सिरहा सदरमुकामको मुख्य सडक फराकिलो बनाइएको दुई वर्षभन्दा बढी भइसकेको छ । सडक विस्तारले बजारको स्वरूप परिवर्तन गर्ने, यातायात सहज बनाउने र नगरलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको थियो । तर सडक विस्तारपछि यसको व्यवस्थापन र सरसफाईमा आवश्यक ध्यान नदिइँदा स्थानीय नागरिकले अपेक्षित सुविधा अनुभूति गर्न सकेका छैनन् । विशेषगरी सहिद राजेश ठाकुर पार्कदेखि रामजानकी चौकसम्मको क्षेत्रमा सडक सरसफाईको अभाव स्पष्ट देखिन्छ । नगरपालिकाको उदासीनताका कारण बजार क्षेत्रमा धुलो, फोहोर र अस्वस्थ वातावरणले नागरिकलाई दैनिक सास्ती दिइरहेको छ । स्थानीय सरकारको प्रमुख दायित्वमध्ये एक नागरिकलाई सफा, सुग्घर र स्वस्थ वातावरण उपलब्ध गराउनु हो । तर सिरहा नगरपालिकाले सदरमुकामको मुख्य सडकको नियमित सरसफाई, पानी छर्किने व्यवस्था तथा धुलो नियन्त्रणका उपायहरू प्रभावकारी रूपमा लागू गर्न सकेको देखिँदैन । सडकमा उड्ने धुलोले आँखामा जलन, एलर्जी तथा श्वासप्रश्वाससम्बन्धी समस्या बढाउने जोखिम सिर्जना गर्छ । यस्तो अवस्था लामो समयसम्म कायम रहँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।
सडक विस्तारले मात्र शहर व्यवस्थित हुँदैन । त्यसको नियमित मर्मत, सरसफाई र व्यवस्थापन उत्तिकै आवश्यक हुन्छ । सडकमा अत्यधिक धुलो हुनु भनेको व्यवस्थापन कमजोर हुनुको संकेत हो । यदि नगरपालिकाले नियमित सरसफाई, पानी छर्किने, ढल व्यवस्थापन तथा सडक किनार व्यवस्थित गर्ने कामलाई प्राथमिकतामा राख्यो भने बजारको वातावरण निकै सुधार हुन सक्छ । यद्यपि, सरसफाईको जिम्मेवारी नगरपालिकामात्रैको होइन । स्थानीय व्यवसायी र बासिन्दाको पनि समान दायित्व हुन्छ । पसल अगाडि फोहोर नफाल्ने, वातावरण सफा राख्ने तथा नगरपालिकासँग सहकार्य गर्ने बानीको विकास आवश्यक छ । सामूहिक प्रयासबिना बजारलाई सफा र व्यवस्थित बनाउन कठिन हुन्छ ।

आज सिरहा सदरमुकामको बजार क्षेत्रमा देखिएको धुलो र फोहोरको समस्या केवल असुविधाको विषय मात्र होइन, यो जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो । त्यसैले नगरपालिकाले तत्काल प्रभावकारी सरसफाई अभियान सञ्चालन गर्नुपर्छ । नियमित सडक सफा गर्ने, धुलो नियन्त्रणका लागि पानी छर्किने र बजार क्षेत्रलाई व्यवस्थित बनाउने कार्यलाई प्राथमिकतामा राख्नु जरुरी छ । यदि समयमै आवश्यक कदम चालिएन भने नागरिकको स्वास्थ्य जोखिममा पर्नेछ र नगरको छवि पनि कमजोर बन्नेछ । त्यसैले स्थानीय सरकार, व्यवसायी र नागरिक सबैले आफ्नो जिम्मेवारी बुझेका खण्डमा मात्र सिरहा सदरमुकामलाई साँच्चिकै सफा, सुग्घर र स्वस्थ शहरका रूपमा विकास गर्न सकिन्छ । यसका निम्ति सिरहा नगरपालिकाले थप सक्रियता देखाउनु पर्छ । मुख्य सडकसँगै रहेको अर्को सडकहरुमा पनि सरसफाईलाई जोड दिदै धुलोमुक्त सडक बनाउनु पर्छ । स्थानीयवासीलाई यस अभियानमा जोड्नुपर्छ । जसले गर्दा नगरका हरेक सडक सफा र स्वच्छ रहन्छ र नागरिकले त्यसको लाभ लिन सक्छ ।



