सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिरहा निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तपेश्वर यादव भारी मतान्तरसहित निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धामा रहेका पाँच पूर्वमन्त्रीलाई पराजित गर्दै उल्लेखनीय जित हासिल गरेका हुन् ।
निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार तपेश्वर यादवले ३६ हजार २१० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अजय शंकर नायकले ७ हजार ९७२ मत प्राप्त गरेका छन् । तपेश्वर यादवले अजय शंकर नायकलाई २८ हजार २३८ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन् ।
अन्य उम्मेदवारतर्फ जनमत पार्टीका बिरेन्द्र प्रसाद महतोले ५ हजार ४१ मत प्राप्त गरे भने नेकपा एमालेका धर्मनाथ साहले ४ हजार २२७ मत पाए । यसैगरी नेपाली कांग्रेसकी चन्द्रकला कुमारी यादवले ४ हजार ६१ मत प्राप्त गरेकी छन् भने जनता समाजवादी पार्टी नेपालका राज किशोर यादवले ३ हजार ४८४ मत प्राप्त गरेका छन् ।
निर्वाचन कार्यालयका अनुसार सिरहा क्षेत्र नम्बर–४ मा कुल ७० हजार ७७ मत खसेको थियो । मतगणना सम्पन्न भएसँगै तपेश्वर यादव औपचारिक रूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
यस निर्वाचनमा पूर्वमन्त्रीहरू अजय शंकर नायक, बिरेन्द्र प्रसाद महतो, धर्मनाथ साह, राजकिशोर यादव तथा बहुजन शक्ति पार्टीका बिश्वेन्द्र पासवानलाई पराजित गर्दै रास्वपाका तपेश्वर यादवले सिरहा–४ मा उल्लेखनीय राजनीतिक सफलता हासिल गरेका छन् ।




