काठमाडौं । इजरायली र अमेरिकी गुप्तचर निकायले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीईलाई सही मौका छोपेर प्रहार गर्न महिनौँदेखि गोप्य रूपमा निगरानी गरिरहेको सीएनएनले जनाएको छ ।
यो मामिलाका जानकार व्यक्तिहरूले सीएनएनलाई बताएअनुसार, खामेनीईको दैनिक तालिका जस्तै, उनी कहाँ बस्थे, कसलाई भेट्थे, कसरी सञ्चार गर्थे र आक्रमणको खतरा हुँदा कहाँ लुक्न सक्थे भन्ने बारेमा अनुगमन गरिएको थियो ।

उनीहरूले इरानका वरिष्ठ राजनीतिक र सैन्य नेताहरूमाथि पनि निगरानी गरिरहेका थिए, जो विगत चार दशकदेखि देशका सर्वोच्च नेता रहेका खामेनीईसँग विरलै एउटै स्थानमा भेला हुने गर्थे । पछिल्ला केही दिनमा उनीहरूले त्यो अवसर फेला पारेका थिए ।
खामेनीईलगायत इरानका शीर्ष अधिकारीहरूले शनिबार बिहान तेहरानस्थित एउटा परिसरका छुट्टाछुट्टै स्थानमा भेट्ने योजना बनाएका थिए, जहाँ आयतोल्लाहको कार्यालय, इरानी राष्ट्रपति भवन र राष्ट्रिय सुरक्षा संयन्त्र थियो ।
एक इजरायली स्रोतले सीएनएजलाई बताएअनुसार, अत्यधिक सतर्क रहने ती सर्वोच्च नेताले दिउँसोको समयमा आफूलाई कम असुरक्षित महसुस गरे । र, आफ्नो सुरक्षा सतर्कतामा केही हेलचेक्र्याइँ गरेका थिए । केही इजरायली र अमेरिकी अधिकारीका निम्ति यो अवसर गुमाउनै नसकिने खालको बनेको थियो । त्यसपछि रातिको समयमा गरिने भनिएको आक्रमणको योजनालाई दिउँसोमा परिवर्तन गरिएको थियो ।
इजरायली सेनाका चिफ अफ स्टाफ इयाल जामिरले वायुसेनाका पाइलटहरूलाई पठाएको एउटा नोटमा यो अभियानको गम्भीरता स्पष्ट पारेका थिए ।
उनले लेखेका थिए, “शनिबार मिर्मिरेमा ‘अपरेसन रोअरिङ लायन’ सुरु हुँदै छ । तपाईंहरूलाई आफ्ना निसानाहरूमा प्रहार गर्ने अनुमति दिइएको छ । हामी इतिहास रचिरहेका छौँ । मलाई तपाईंहरूमाथि विश्वास छ । हामी सबैलाई शुभकामना ।”
इजरायली समयानुसार बिहान करिब ६ बजे उज्यालो भइसकेको थियो । अमेरिका र इजरायलको संयुक्त आक्रमणको पहिलो लहरस्वरूप इजरायली युद्ध विमानहरूले उक्त परिसरमा बमबारी गरे ।
स्रोतका अनुसार, ती विमानहरू अत्यन्त सटीक निसाना लगाउने गोलाबारुद र लामो दूरीका क्षेप्यास्त्रले सुसज्जित थिए । परिसरभित्र विभिन्न नेताहरू रहेका तीनै स्थानमा एकैसाथ प्रहार गरियो । केही घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीईको मृत्यु भएको घोषणा गरे ।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए, “उनी (खामेनीई) हाम्रो गुप्तचर र अत्यन्त परिष्कृत ट्रयाकिङ प्रणालीबाट बच्न सकेनन् । इजरायलसँगको निकट कार्यगत सम्बन्धका कारण उनी वा उनीसँगै मारिएका अरू नेताहरूले केही पनि गर्न सकेनन् ।”
अमेरिकाले आक्रमण गर्ने ट्रम्पको धम्कीलाई पूरा गर्न उक्त निकट क्षेत्रमा व्यापक सैन्यशक्ति जम्मा गरिसकेकोे समयमा इरानका वरिष्ठतम नेताहरू—जसमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)का कमान्डर र रक्षामन्त्री समेत किन तेहरानको केन्द्रमा खामेनीईकै आसपासकै स्थानमा भेला भए भन्ने अझै स्पष्ट भएको छैन ।
इजरायली गुप्तचर निकायले रक्षामन्त्री अजिज नासिरजादेह, सैन्य परिषद्का प्रमुख एडमिरल अली शामखानी, उपगुप्तचरमन्त्री मोहम्मद शिराजी, आईआरजीसीका कमान्डर इन चिफ मोहम्मद पाकपुर र आईआरजीसी एरोस्पेस फोर्सका कमान्डर सैयद माजिद मौसाभीलगायत शीर्ष सल्लाहकार त्यहाँ उपस्थित रहेको पुष्टि गरेको थियो । उनीहरूको उत्तराधिकारी को हुनेछ भन्ने अझै स्पष्ट छैन ।
अबको बाटोबारे व्यापक अनिश्चितताबीच यो अभियानले इरानभित्र इजरायली र अमेरिकी गुप्तचर संयन्त्र कति बलियो भइसकेको रहेछ भन्ने देखाएको छ । र, अवसर पाउनासाथ यी दुई देश कति छिटो कदम चाल्न तयार रहेछन् भन्ने छर्लंग पारेको छ ।




