प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च , टुँडिखेलमा बिहीबार आयोजित समारोहमा सम्बाेधन गर्नुहुँदै । तस्बिर: किरणराज विष्ट / रासस

काठमाडौं । अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गरी मुलुकमा दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा सरकारले सम्पूर्ण तागत लगाएको बताएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गरिन् ।

अन्तरिम सरकार प्रमुख कार्कीले सबल लोकतन्त्रले असन्तोषलाई दमन नगर्ने र त्यसलाई सुधारको अवसरका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिइन् । “प्रजातन्त्रलाई अब शासकीय स्वरूपमा आएको प्राविधिक परिवर्तनका रूपमा मात्र कदापि हेरिनुहुँदैन । अब त खासमा यो एउटा जीवनशैली हो । यो इन्टरनेटमा हुने अभिव्यक्ति स्वतन्त्रतादेखि भान्छामा पाक्ने तरकारीको मूल्यसम्ममा झल्कनुपर्छ”, उनले भनिन् ।

अन्तरिम सरकार प्रमुख कार्कीले लोकतन्त्र केवल प्रक्रिया मात्र नभएको उल्लेख गर्दै यसले नतिजा दिनुपर्छ भनिन् । “विधिको शासन आवश्यक छ तर प्रक्रियाको नाममा नागरिकलाई अल्झाएर राख्नु, ढिलासुस्ती, हैरानी र प्रताडना दिनु पनि लोकतन्त्रको अभ्यास होइन । यो त बेथिति हो”, उनले भनिन् ।

वर्तमान सरकारले जेनजी आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएको जनाउँदै अन्तरिम सरकार प्रमुखले सुशासन, पारदर्शीता, समन्याय र जवाफदेहितालाई व्यवहारमा रूपान्तरण गर्ने दिशामा सरकारका प्रयास अभिमुख भइरहेको स्पष्ट पारिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय