सिरहा । सिरहामा नगरपालिकाको सहयोगमा नगरस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । सलहेश युवा कल्वले बुधवारदेखि सिरहामा सो प्रतियोगिताको आयोजना गर्ने गरी तयारी थालिएको छ । युवाको सम्मान, नगरको पहिचान, फुटबल खेल हाम्रो अभियान भन्ने मूल नाराका साथ सिरहा नगरपालिकाको आयोजनामा नगर स्तरीय फुटबल प्रतियोगिता हुन गईरहेको छ ।
नगरस्तरीय फुटबल प्रतियोगिताको निम्ति सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिताको संयोजन गरिरहेको सलहेश युवा कल्वले जनाएको छ । सिरहा नगरपालिकाले नगरक्षेत्रका युवाहरुलाई समेट्दै फुटबल प्रतियोगिता गराउने र खेलाडी उत्पादन गर्ने लक्ष्य अनुसार प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको लागि सिरहा नगरपालिका क्षेत्रको २२ वडामध्ये १३ वटा वडाले आफ्नो सहभागिता जनाउने भएको छ ।

वडा नम्बर १, २, ३, ६, १३, १५, १६, १९, २१, बाहेक १३ वटा वडाबाट खेलाडीहरु छनौट गरी टिम बनाएर प्रतियोगितामा सहभागी हुन लागेको सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् । सहभागी १३ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको उद्घाटन बुधवार हुने भएको छ । उद्घाटन खेलमा वडा नम्बर ७ र वडा नम्बर १७ वीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको टाईसिट पनि सार्वजनिक गरिएको अध्यक्ष यादवले बताएका छन् ।
सिरहा सदरमुकाम स्थित सूर्य नारायण सत्य नारायण मोरबैता यादव बहुमुखी क्याम्पसको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको फाईनल खेल बुधवार हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता हुने टोलीलाई नगद ६० हजार, मेडल, प्रमाणपत्र, ट्रफी प्रदान गरिने छ । यस्तै उपविजेता हुने टोलीलाई नगद ३० हजार, मेडल, ट्रफी, प्रमाणपत्र र प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गर्ने विधागत खेलाडीहरूलाई साइकल पुरस्कार प्रदान प्रदान गरिने अध्यक्ष यादवले बताएका छन् ।



