सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले सरकारी सवारी साधनको दुरुपयोग नगर्न स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा सरकारी कर्मचारीलाई कडा निर्देशन दिएको छ । निर्वाचन तथा राजनीतिक गतिविधि बढ्दै गइरहेका बेला सरकारी सवारी साधनको अनुचित प्रयोग हुन नदिन प्रशासनले सबै पक्षलाई सचेत गराएको हो ।

जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार जारी गरेको सूचनामा कार्यालयको कामकाज बाहेक राजनीतिक कार्यक्रम, सभा, जुलुस, आवत–जावत वा अन्य कुनै पनि व्यक्तिगत प्रयोजनमा सरकारी सवारी साधन प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।
सूचनामा सबै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूले प्रयोग गर्दै आएका चारपाङ्ग्रे र दुईपाङ्ग्रे सरकारी सवारी साधन तोकिएको काम बाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न आग्रह गरिएको छ । निर्वाचन आचारसंहिता, सुशासन र सार्वजनिक सम्पत्तिको संरक्षणलाई ध्यानमा राख्दै यस्तो निर्देशन जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा हस्ताक्षरित सूचनामा सरकारी सवारी साधन प्रयोगसम्बन्धी विद्यमान कानुनी व्यवस्था र निर्देशनको पूर्ण पालना गर्न आग्रह गरिएको छ । उल्लंघन भएमा कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ ।
आसन्न निर्वाचनलाई मर्यादित, निष्पक्ष र पारदर्शी बनाउन सरकारी स्रोत–साधनको दुरुपयोग रोक्नु अनिवार्य रहेको प्रशासनको ठहर छ । यस निर्देशनसँगै सिरहामा सरकारी सवारी साधनको प्रयोगमाथि निगरानी थप कडा हुने संकेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय