सिरहा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलतर्फ स्वीकृत निर्वाचन प्रहरी भर्ना प्रक्रियाअन्तर्गत सिरहामा दरखास्त दिएका उम्मेदवारहरूको लिखित परीक्षा आज (शुक्रबार) सञ्चालन हुँदैछ । प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक दक्षता परीक्षा उत्तीर्ण गरेका उम्मेदवारहरूलाई मात्र लिखित परीक्षामा सहभागी गराइनेछ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लिखित परीक्षा आज बिहान ११ बजे सुरु हुनेछ । परीक्षार्थीहरूलाई बिहान १०ः३० बजेसम्म अनिवार्य रूपमा परीक्षा केन्द्रमा प्रवेश गर्न निर्देशन दिइएको छ ।
लिखित परीक्षा सिरहा नगरपालिका –३ स्थित शंकर रंगशाला (मखनहा फुटबल ग्राउण्ड) मा सञ्चालन हुने जनाइएको छ । तोकिएको मिति, समय र स्थानमा उपस्थित नहुने उम्मेदवारलाई परीक्षामा सहभागी नगराइने जिल्ला प्रहरी कार्यालयले स्पष्ट पारेको छ ।

जारी सूचनाअनुसार परीक्षार्थीहरूले प्रवेशपत्र तथा सक्कल नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ । परीक्षाका क्रममा कालो मसी भएको कलम प्रयोग गर्नुपर्नेछ भने मोबाइल फोनलगायत सबै किसिमका विद्युतीय उपकरण प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ ।
भर्ना तथा छनोट उपसमितिका सदस्य–सचिव प्रहरी निरीक्षक सुनील प्रसाद चौसियाद्वारा हस्ताक्षरित सूचना जारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्वाचन सुरक्षाका लागि आवश्यक जनशक्ति छनोट प्रक्रिया व्यवस्थित, पारदर्शी र मर्यादित ढंगले अगाडि बढाइएको कार्यालयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय