जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य कंचन विच्छा निलम्बनमा परेका छन् ।
प्रदेशसभा सचिवालयका सचिव वासुदेव कोइरालाका अनुसार राप्रपाबाट प्राप्त लिखित पत्रका आधारमा विच्छालाई निलम्बन गरिएको हो । आज (शुक्रबार) सार्वजनिक सूचनामा प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १९० तथा राजनैतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) बमोजिम कारबाही गरिएको उल्लेख छ ।
सचिवालयका अनुसार प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १९१ अनुरूप पनि निलम्बन निर्णय लागू गरिएको छ ।
राप्रपाले पार्टीको नीतिविपरीत कार्य गरी अनुशासन उल्लङ्घन गरेको आरोपमा विच्छालाई छ महिनासम्म साधारण सदस्यबाट निष्कासन गर्ने तथा प्रदेशसभा सदस्यबाट फिर्ता गर्ने निर्णय गरेको जनाएको छ । पार्टी विधान २०४८ (संशोधनसहित) बमोजिम राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले उक्त निर्णय गरेको बताइएको छ ।




