काठमाडौँ — नेपाली क्रिकेटका पूर्वखेलाडीद्वय वरदान चालिसे र मनोज कटुवाल आउँदो नेपाल प्रिमियर लिग क्रिकेटमा जनकपुर बोल्ट्सको एउटा महत्वपूर्ण हिस्सा बन्ने भएका छन् ।

ड्रिम स्पोर्टसको स्वामित्व रहेको जनकपुर बोल्ट्समा वरदान ‘डाइरेक्टर अफ क्रिकेट’ र मनोज प्रशिक्षकको भूमिकामा हुनेछन् ।

जतिबेला नेपाली क्रिकेट आफ्नो पहिचान खोज्दै थियो, त्यो समयमा नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेटसँग जोड्न ठूलो भूमिका खेल्ने खेलाडीमा पर्छन् उनीहरू ।

जनकपुर बोल्ट्सले यसअघि नै पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । नेपाली क्रिकेटमा उनी परिचित अनुहार हुन् । उनी दुई कार्यकालमा नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक भइसकेका छन् । त्यसबाहेक दासानायके अमेरिका र क्यानडाको पनि मुख्य प्रशिक्षक भइसकेका छन् । जनकुपरको मार्की खेलाडीमा आसिफ शेख छन् ।

वरदान र मनोजको आगमनले जनकपुर बोल्ट्सको प्रशिक्षण र व्यवस्थापन टोली बलियो बनेको छ । घरेलु क्रिकेटका सफल प्रशिक्षकको रूपमा स्थापित मनोज नेपाल प्रिमियर लिगको अक्सनमा पनि जनकपुरको टेबलमा थिए । उनको अनुभवले अक्सनबाट जनकपुरलाई थप सशक्त बनाएको हो ।

सन् २००२ को आईसीसी यू–१९ विश्वकपबाट नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा चिनिन थालेको हो । न्युजिल्यान्डमा भएको त्यो विश्वकपका प्रमुख खेलाडी हुन् वरदान र मनोज। नेपालले पाकिस्तान र बंगलादेशमाथि ऐतिहासिक विजय हात पार्दा उपकप्तान वरदान दुवै खेलमा ‘प्लेयर अफ द म्याच’ भएका थिए भने विकेटकिपर मनोज टोलीका अर्का प्रमुख खेलाडी थिए । दुवैले सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका हुन् ।

सन् २०२२ मा यो जोडी फेरि एकसाथ रहे । नेपाल क्रिकेट संघले आयोजना गरेको नेपाल टी–२० लिगमा वरदान टिम प्रवर्धक र मनोज प्रशिक्षकको रूपमा रहेका थिए । नेपाल टी– २० लिगमा लुम्बिनी अल स्टार्सले बनाएको लिगेसीलाई निरन्तरता दिन वरदान र मनोज खरो रूपमा उत्रने विश्वास जनकपुर बोल्ट्सको छ ।

नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सको एउटा हिस्सा हुन पाएकोमा आफू निकै उत्साहित भएको वरदान बताउँछन् । उनले भने, ‘धेरै क्षमतावान खेलाडी देखेको हिसाबमा यो निकै प्रतिस्पर्धात्मक प्रतियोगिता हुने विश्वास लिएको छु । साथै नेपाली क्रिकेटरका लागि यो निकै महत्त्वपूर्ण प्रतियोगिता हुनेछ । किनभने उनीहरूले खेलेर, प्रतिस्पर्धा गरेर माथिल्लो स्तरमा जान सक्छन् । म अब फेरि नेपाली क्रिकेटमा आउँदै छु । जनकपुर बोल्ट्सलाई उपाधि दिलाउन म आफ्नो उत्कृष्ट दिनेछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय