सिरहा । सिरहा सदरमुकाम फराकिलो हुने काम जारी छ । एनएच–२० अन्र्तगतको मापदण्ड अनुसार सदरमुकाम सिरहाको मुख्य सडक वीचविन्दुवाट १५/१५ मीटर खाली गराईएको छ । सडक खाली गराउने काम अझै जारी छ । वैशाख १२ देखि सुरु भएको सडक फराकिलो गर्ने अभियान अन्र्तगत अहिले पनि सडकक्षेत्र खाली गराउने काम भईरहेको छ ।
सडक क्षेत्र खाली गराएर सडक स्तोरोन्नती गर्ने काममा समय लाग्नेछ । यसवीच सदरमुकाममा ट्राफिक व्यवस्थापन निकै जरुरी देखिएको छ । जिल्ला प्रहरी कार्यालयदेखि उत्तरमा रहेको ट्राफिक प्रहरीको भूमिका थप वढी छ । अहिले ट्राफिक प्रहरीले आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न नसक्दा सदरमुकाम सिरहामा ट्राफिक व्यवस्थापन लथालिङ छ । यात्रु बोक्ने म्याजिक भ्यान, टेम्पु, रात्रीबस, दिवा सेवाका बसहरु जहाँतही यात्रुलाई ओराल्ने र चढाउने काम गरिरहेको छ । जसले गर्दा सडक जाम हुने र दुर्घटनाको जोखिम पनि बढेको छ ।

अहिले सदरमुकाममा रहेको जिल्ला अदालत अगाडी पनि प्रहरी भ्यानहरु लथालिङ हिसाबले पार्किङ गर्दै आएको छ । जसले गर्दा सवारी आवगमनमा समस्या हुने र पैदलयात्रुलाई आउजाउ गर्न जोखिम रह्ने गरेको छ । अर्कोतिर महावीर चौक, हेमनारायण चौकमा अव्यवस्थित तरिकाले टेम्पो, म्याजिकहरु पार्किङ गरी राख्ने गरेको छ । त्यससँगै म्याजिक, टेम्पो, यात्रुबाहक बसले बजारमा निश्चित स्थान बाहेकका स्थानहरुमा सवारी रोक्दा जाम लाग्ने र दुघृटना हुने अवस्था छ । यस्तै प्रादेशिक अस्पताल अगाडीदेखि गुदरी बजारसम्म रात्रीबस(नाईटबस) पार्किङ गर्दै आएको छ । यसले सवारी आवतजावतमा समस्या हुन्छ । यसका बाबजूत ट्राफिक प्रहरी कार्यालय सिरहाले निरिहता प्रकट गरेको छ । सदरमुकाममा निश्चित स्थानमा सवारी रोक्दै यात्रु ओर्लाने र चढाउने काम गर्नुपर्ने भएपनि त्यसो नहुँदा नियमनकारी निकाय ट्राफिक प्रहरी मौन छ ।
ट्राफिक प्रहरी क्षमता भन्दा वढी यात्रु सवारीसाधनमा बसाउँदै आएपनि मौन बस्ने गरेको छ । यसमा ट्राफिक प्रहरी र यात्रुवाहक सवारीसाधनधनीको मिलोमतो रहेको देखिन्छ । नागरिकलाई सहज रुपमा आउजाउ गर्ने वातावरण हुनुपर्नेमा त्यसमा वाधा अवरोध भईरहँदा पनि ट्राफिक प्रहरी मौन छ । आर्थिक लाभ लिईरहँदा ट्राफिक प्रहरीले सदरमुकामको ट्राफिक व्यवस्थापनमा ध्यान दिन नचाहेको धेरैको भनाई छ । म्याजिक भ्यान, टेम्पो, रात्रीकालिन बसहरुसँग मासिक रुपैयाँ असुली गर्ने भएकोले पनि लथालिङ अवस्था हटाउन चासो नदिएको जानकारहरु बताउँछन् ।
यस विषयमा ट्राफिक प्रहरी सिरहाका प्रमुखसँग कुराकानी गर्ने प्रयास हुँदा पनि सम्पर्कमा आउन चाहेनन् ।



