सिरहा । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीको भासिँएको पुलमा अस्थाई पुल बनेपछि सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ ।
पुलमा सर्वसाधारणलाई आवतजावत गर्न सिरहा नगरपालिकाले पुल बनाईदिएपछि सर्वसाधारणहरु हर्षित भएका हुन् । यसअघि नदीमा निजी रुपमा बनाईएको बाँसको अस्थाई पुलमा आवतजावत गर्दा प्रतिव्यक्ति २० रुपैया लिँदै आएको थियो । अब नगरपालिकाले उक्त नदीमा अस्थाई पुल बनाईदिएपछि सर्वसाधारणहरु निःशुल्क रुपमा आवतजावत गरिरहेका छन् ।

सिरहाबाट जनकपुरधाम जान २८ किलोमिटर बाटो तय गर्नुपर्छ । कमला नदीमा बनाईएको पुल भत्किएपछि नदीमा बाढी आएको बेला करिब ८७ किलोमिटर तय गरेर सर्वसाधारणलाई जनकपुरधाम पुग्नुपर्ने हुन्छ । तर नगरपालिकाले नदीमा अस्थाई पुल बनाईदिएपछि मोटरसाईकल चालकहरुलाई पनि आवतजावत गर्न सहज भएको छ ।
केही महिनाअघि भौतिक पूर्वाधार मन्त्री नारायण काजी श्रेष्ठले पुलको अनुगमन गर्दै अस्थायी पुल निर्माण गरिदिन ठेकेदार कम्पनीलाई निर्देशन दिएको थियो । मन्त्री श्रेष्ठले निर्देशन दिएपनि नदीमा पुल नबनेपछि अहिले नदीमा बाढी आउँने मौसममा सर्वसाधारणलाई आवतजावत गर्न अस्थाई पुल बनाईएको सिरहा नगरपालिकाका मेयर डा. नवीन कुमार यादवले बताएका छन् ।
उनले यो काम नगरपालिकाको क्षेत्राधिकारमा नपरेपनि यात्रुहरुले आवतजावत गर्दा भोगिरहेको कठिनाईलाई मध्यनजर गर्दै पुल निर्माण गरिएको बताए ।
४७० मिटर लामो पुल २०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्न सम्झौता गरिएपनि हालसम्म सम्पन्न भएको छैन् । उक्त पुलको निर्माण कार्य सम्पन्न भएपनि सुचारु नहुँदै करिब दुई बर्ष पहिले नदीमा आएको बाढीका कारण भाँसिएको थियो ।
१३ वटा पाया र १२ स्पान (स्ल्याब) सहित निर्माण भईरहेको कमला पुलको सिरहातर्फबाट दोस्रो र धनुषातर्फको चौथो पाया भाँसिएको थियो ।
सम्झौता अनुसार ०७१ मंसीर ३० सम्म निर्माण सम्पन्न भईसक्नुपर्ने कमला पुल ढिलाइ र बेवास्ताकै कारण १० वर्षदेखि निर्माणाधीनकै अवस्थामा छ ।
पुलको शिलान्यास त्यतिबेला भौतिक तथा पूर्वाधार मन्त्री हृदेश त्रिपाटीले गरेका थिए ।
तराई मधेसको लाईफलाईन समेत मानिने हुलाकी सडक अन्तर्गतको उक्त पुल नबन्दा धनुषा, सिरहा र सप्तरीसम्मका सर्वसाधारणलाई निकै सास्ती भोग्नु परेको छ ।
https://www.facebook.com/ApanDainik/videos/1012612669912551



