सिरहा । वैदेशिक रोजगारीको क्रममा खाडी मुलुक र मलेसिया पुग्ने जिल्लाको सूचीमा सिरहा दोेस्रो स्थानमा रहेको छ । वैदेशिक रोजगारीमा सवैभन्दा वढी धनुषा जिल्लावाट गएका छन् । त्यसपछि सिरहा जिल्लवाट वैदेशिक रोजगारीमा भारत बाहेकका देश पुगेका छन् । त्यसमा विशेषगरी खाडी मुलुक र मलेसिया पुगेका छन् ।
केन्द्रिय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को तथ्यांक सार्वजनिक गर्दा सिरहा जिल्लावाट ५६ हजार ३४४ जना वैदेशिक रोजगारीमा रहेको उल्लेख गरेको छ । यता विभिन्न जिल्लासँगै सिरहा जिल्लामा पनि वैदेशिक रोजगारीको क्षेत्रमा क्रियालिश रहेको ‘सुरक्षित आप्रवासन(सामी)’ परियोजनाले ३२ हजार २३३ जनाको तथ्यांक सार्वजनिक गरेको छ ।


सिरहा जिल्लामा पछिल्लो एक वर्षको दौरान वैदेशिक रोजगारीमा रहेकामध्ये १५ जनाको मृत्यु भएको तथ्यांक सामी परियोजनाका संयोजक नथुनी मण्डलले सार्वजनिक गरेका छन् । संयोजक मण्डलका अनुसार १५ जनाको वैदेशिक रोजगारीकै क्रममा मृत्यु भएको र ८८ जना विभन्न घटनामा परेर अंगभंगको शिकार भएको जनाएका छन् । यो तथ्यांक मधेश प्रदेशको आठ जिल्लाको हेर्दा झन् ठूलो हुन आउँछ । मधेश प्रदेशका आठ वटै जिल्लामा ५६ जनाको मृत्यु भएको छ भने ३ सय ५४ जनाको अंगभंग भएको छ ।

परियोजना अन्र्तगत जिल्ला प्रशासन कार्यालय सिरहामा रहेको सेवा केन्द्रमा २ सय ३२ जनाले उजुरी दर्ता गराएका छन् । वैदेशिक रोजगारीका क्रममा भएको रकमको ठगी लगायतका विषयमा केन्द्रित भएर आफूहरुकहाँ उजुरी आएको संयोजक मण्डलले बताएका छन् ।
वैदेशिक रोजगारीवाट आउने रेमिट्यान्सलाई गाउँघरमा सदुपयोग गर्नुपर्ने आवश्यकता महसुस गरी आफूहरुले वित्तिय साक्षरता कक्षा पनि संचालन गरिरहेको संयोजक मण्डलले बताएका छन् । सिरहा जिल्लाका चार वटा पालिकामा सामी परियोजना अन्र्तगत विभिन्न कार्यक्रम भईरहेको भन्दै उनले लहान नगरपालिका, सिरहा नगरपालिका, सुखिपुर नगरपालिका र अर्नामा गाउँपालिकामा वित्तिय साक्षरता, आयआर्जन, मनोपरामर्श तालिम दिई रहेको बताएका छन् ।
जिल्लाको १७ वटै पालिकामा वित्तिय साक्षरता र मनोपरामर्श तालिमको आवश्यकता आफूहरुले महसुस गरेको भन्दै सिरहा नगरपालिका–७ की विद्या रायले वित्तिय साक्षरताले गर्दा बजेट निर्माण गर्न र फजूल खर्चलाई रोक्न सकिने बताईन् । सिरहा नगरपालिका–६ बसपिट्टाकी गिता कुमारी दासले वित्तिय साक्षरताले गर्दा आफूले आफ्नो लगानी गुडिया बनाउनेमा गरेको र त्यसमा अन्यलाई पनि जोड्दै समूह निर्माण गरेको बताएकी छिन् । समूह बनाएर व्यवसाय थालिएपछि आम्दानी पनि बढ्न थालेको भन्दै दासले यसले आफूलाई समक्ष बनाउन मद्दत मिलेको बताएकी छिन् ।
सुरक्षित आप्रवासन सम्बन्धी जानकारी दिन पत्रकारहरुसँग अन्तरक्रियाको आयोजना गरिएको र जिल्लाको १७ वटै पालिकामा विस्तार गरिनुपर्ने सहभागीहरुको धारणा पनि रहेको थियो ।



