सिरहा । सिरहा जिल्लावाट निर्वाचित मधेश प्रदेशका सांसदहरुलाई सिरहा पुस्तकालयले एक कार्यक्रमवीच सम्मान गरेको छ ।
सिरहा पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कुमार कामतिले मधेश प्रदेश सभाका सदस्यहरुलाई खादा ओढाएर सम्मान गरेका छन् । सिरहा क्षेत्र नम्बर १ (क) वाट निर्वाचित राजेन्द्र प्रसाद चौधरी, १(ख) वाट निर्वाचित राजकुमार गुप्ता (राजु, २(क वाट निर्वाचित शत्रुधन प्रसाद सिंह कोईरी, ३(क) वाट निर्वाचित मनोज सिंह, ३(ख)वाट निर्वाचित प्रमोद कुमार यादव, क्षेत्र नम्बर ४ (क)वाट निर्वाचित त्रिभुवन साह, ४(ख)वाट निर्वाचित रामबाबु यादव, समानुपातिकवाट निर्वाचित जिवछी यादव, ललिता दास र सहिदा खातुनलाई सम्मान गरिएको छ ।

त्यस क्रममा सिरहा पुस्तकालयको ऐतिहासिकताको विषयमा छलफल भएको थियो । मधेश प्रदेश सरकारले सिरहा पुस्तकालयलाई ‘प्रादेशिक पुस्तकालय’ को रुपमा विकास गर्दै लैजानु पर्ने र त्यसमा सिरहा जिल्लाका सवै प्रदेशसभा सदस्यहरुको सशक्त भूमिका निर्वाह गर्न अध्यक्ष कामतिले आग्रह गरेका थिए । प्रदेशको अन्य जिल्लामा विश्वविद्यालय स्थापना, खेलकुदका संरचनाहरु निर्माण भईरहँदा मधेश प्रदेशको केन्द्रविन्दु सिरहा जिल्ला ओझेलमा परेकोले वि.सं. २०१२ सालमा स्थापना भएको सिरहा पुस्तकालयलाई भव्य रुपमा निर्माण गर्दै प्रादेशको गहनामा परिणत गर्न प्रदेश सांसदहरुले जोड दिनुपर्ने बताएका थिए ।
त्यस क्रममा प्रदेश सांसदहरुले आफूहरुले मधेश प्रदेश सभामा सिरहा पुस्तकालयको सन्दर्भलाई जोडेर भूमिका खेल्ने र मधेश प्रदेशकै उत्कृष्ट पुस्तकालयको रुपमा अगाडी ल्याउन जोड दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।




