सिरहा । जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक विस्तार सम्बन्धी थप परामर्श गर्न आज बैठक डाकिएको छ । सिरहा–माडर लचकाटोल(दशजग्ग सीमासम्म) सडक विस्तार गर्ने विषयमा सरोकारवाला निकायसँग सिरहा नगरपालिकाले थप छलफल गर्न बैठक राखेको छ ।
संघीय सांसद सहित सुरक्षा निकायको सहभागितामा सिरहा नगरपालिकाले आईतवार राखेको बैठकमा थप छलफल गर्नुपर्ने निश्कर्षमा पुगेपछि आज पुनः बैठक बस्ने भएको छ । सिरहा नगरपालिकाको कार्यपालिकाले सिरहा सदरमुकामको मुख्य सडक विस्तार गर्न निर्णय गरेको छ । जस अन्र्तगत नेपाल सरकारले तोकेको मापदण्डको आधारमा सडक क्षेत्र खाली गराउने निर्णय नगर कार्यपालिकाले गरेको छ । सोही सम्बन्धमा आईतवार सिरहा क्षेत्र नम्बर ३ का संघीय सांसद एवं एमाले नेता लीलानाथ श्रेष्ठको सहभागितामा सिरहा नगरपालिका, सुरक्षा निकाय र उद्योग वाणिज्य संघका अध्यक्ष सम्मलित बैठक बस्यो ।

सांसद श्रेष्ठसँगै सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवको नेतृत्वमा नगर कार्यपालिका सदस्यहरु, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसंधान विभाग र नेपाली सेनाको टोली र सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ साहको सहभागितामा बैठक बसेको थियो ।
सदरमुकामको मुख्य सडकको विस्तारसँगै सीमावर्ती माडर लचकाटोलसम्मको सडक विस्तार सम्बन्धमा छलफल भयो । जसमा सडकको मापदण्ड र सडक निर्माण गर्न आवश्यक पर्ने बजेट सम्बन्धमा छलफल भएको थियो । बैठकमा सहभागी सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ साहले आर्थिक मन्दीको बेला सडक विस्तारको क्रममा बजार क्षेत्र उजाड हुने अवस्था आउन सक्ने भन्दै त्यसतर्फ सवैलाई सचेत गराएको बताएका छन् । ‘आजको छलफलमा सडक विस्तार र यहाँको अर्थतन्त्रको वारेमा गम्भीर समिक्षा भयो,’अध्यक्ष साहले भने,‘अर्थतन्त्र खस्किएको बेला सडक विस्तारको नाउँमा भत्काउनु अगावै विकल्प सोच्नु जरुरी भएको छ ।’
सिरहा नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मोहम्मद समसादले सुरक्षा निकाय सहितको टोलीसँग सडक विस्तारको वारेमा गम्भीर रुपमा छलफल भएको बताएका छन् । सिरहा नगरपालिकाको कार्यपालिकाले पनि निर्णय गरिसकेको विषय भएकोले त्यसको कार्यान्वयन गराउने विषयमा छलफल भएको र थप छलफल सोमवार हुने वडा अध्यक्ष समसादले बताए ।
आजको छलफलमा सडक विस्तार गर्न मापदण्ड र सडक निर्माण गर्न आवश्यक बजेटको सुनिश्तिताको विषयमा रहेको थियो । सडक क्षेत्र खाली गराउँदा कुन मापदण्ड प्रयोग गर्ने र सडक निर्माण सुरु गर्न आवश्यक बजेटको अवस्था कस्तो भन्ने वारेमा छलफल भएको हो । सिरहा नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष विनोद कामतीले सोमवारको छलफलमा सडक डिभिजन कार्यालय लहानका प्रमुखलाई बोलाईएको र सडकको मापदण्ड, बजेट लगायतको विषयमा छलफल गरी आवश्यक निर्णय लिईने बताएका छन् । ‘सहिद राजेश ठाकुर पार्कदेखि चोहर्वातर्फको सडक चार लेनको विस्तारको काम पनि सुरु भएको छ । अहिले १५/१५ मीटरको मापदण्डका अढाई किलोमीटर सडक चारलेनको सुरु भयो,’ वडा अध्यक्ष कामतीले भने,‘राजेश ठाकुर पार्कदेखि सदरमुकामको मुख्य बजारहुँदै माडर लचकाटोलसम्मको सडकको मापदण्ड र बजेटवारे छलफल गरी आवश्यक निर्णयमा पुग्छौं ।’
भोलीको दिनमा माडर भन्सारलाई ड्राई पोर्टको रुपमा विस्तार गर्ने योजना भएकोले पनि सडक क्षेत्र फराकिलो हुनु जरुरी भएको भन्दै वडा अध्यक्ष कामतीले सडकको आवश्यकता र क्षतिलाई हेर्दे नगरपालिकाले सुरक्षा निकाय लगायतका सरोकारवालासँग परामर्श गरी आवश्यक निर्णय लिने बताएका छन् ।
आजको छलफलमा सांसद श्रेष्ठ, मेयर डा यादव, कार्यापालिका सदस्यहरु, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, राष्ट्रिय अनुसंधान विभागका प्रमुख र नेपाली सेनाका कर्नेलको उपस्थिती रहेको थियो ।



