सिरहा । सरकारले गत साउन २ मा हरूवाचरवा प्रथा अन्त्यको घोषणा गरेपनि पछिल्लो ९ महिनासम्ममा सरकारले पुनःस्थापनातर्फ ध्यान नदिएको भन्दै हरवाचरवा अहिले संघर्षमा उत्रिएका छन् ।
आन्दोलनको घोषित कार्यक्रम अनुसार सोमवार हरवाचरवा अधिकार यात्राअन्तर्गत सिरहा सदरमुकाममा प्रर्दशन गरिएको छ । पुस्तौंदेखि अरूको जग्गामा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका हरवाचरवाले आफ्नो अधिकारका लागि एकैपटक राजविराज र वीरगन्जबाट मधेश प्रदेशका राजधानी जनकपुरसम्मका पदयात्रा सुरु गरेको छ ।

हरवाचरवालाई बस्ने जग्गा घरदेखि उच्च शिक्षा तथा रोजगारीसम्मको समस्या छ । पुनस्थापनाका लागि विस्तृत कार्ययोजना र कार्यविधि मन्त्रिपरिषद्बाट अविलम्ब पारित गरी जीविकाका लागि कम्तीमा १० कट्ठा जग्गा उपलब्ध गराउने, वैकल्पिक रोजगारीमा सहभागी गराउने तथा संविधानको धारा ५१ (६) कार्यान्वयन गर्ने भनी सरकारले हरवाचरवासँग सहमति गरेको थियो । तर, सहमति कार्यान्वयन हुन नसकेको भन्दै आन्दोलन थालेको दलित अधिकारकर्मी संजय महराले बताएका छन् । जनकपुरमा मंगलवार भएपछि आमसभा तथा प्रदेश सरकारलाई ज्ञापनपत्र दिँदै समीक्षा बैठक गरी थप दबाबका लागि काठमाडौंसम्मको पैदल यात्राको कार्यक्रम तय गरिनेछ ।
जिल्ला प्रशासन कार्यालय अगाडी कोणसभा गर्दै विभिन्न वक्ताहरुले हरवाचरवाको मागलाई सम्बोधन गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । त्यस क्रममा अभियन्ता रामरीझन यादवले आफ्ना धारणा राखेको दलित अधिकारर्मी संजय महराले जनाएका छन् ।
मधेश प्रदेशका आठवटै जिल्लासहित मोरङ, सुनसरी, नवलपरासी, रूपन्देही र कपिलवस्तुमा अहिले पनि हरवाचरवा प्रथा कायम छ । यी जिल्लामा झन्डै १ लाख ५० हजार हरुवाचरुवा रहेको हरवाचरवा अधिकार मञ्चले जनाएको छ ।
https://www.facebook.com/ApanDainik/videos/1209800262986901



