पोखरा । त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमालले मंगलबार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ वर्ष पुरानो कीर्तिमान तोड्न सफल भएका छन् ।
पोखरा रंगशालामा भएको एथ्लेटिक्स पुरुष ४०० मिटर दौडमा उनले कीर्तिमानसहित स्वर्णपदक जितेका हुन् । सोमबहादुरले ४७.९५ सेकेन्डमा दूरी पार गरी नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।

सोमबहादुरले सन् १९९० मा चीनको बेइजिङ सम्पन्न एसियन गेम्समा आशाराम चौधरीले बनाएको कीर्तिमान भंग गरेका हुन् । चौधरीको नाममा ४८.३२ सेकेन्डको कीर्तिमान थियो ।
यो स्पर्धामा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका आशिष चौधरीले ४९.४० सेकेन्डमा दूरी पूरा गर्दै रजतपदक जिते । आर्मीका प्रकाश दनुवारले ४९.९० सेकेन्डमा दूरी पूरा गर्दै कास्यपदक जिते ।

महिला ४०० मिटर दूरीको दौडमा पनि राष्ट्रिय कीर्तिमान बनेको छ । एपीएफकी रमिताकुमारी थारुले ५८.१० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् ।
उनले तुलसा खत्रीले सन् २०१९ मा बनाएको कीर्तिमान तोडेकी हुन् । तुलसाको नाममा ५९.५७ सेकेन्डको कीर्तिमान थियो ।
यो स्पर्धामा आर्मीकी निर्मला थापाले रजत र एपीएफकी कल्पना श्रेष्ठले कास्यपदक जित्न सफल भए । निर्मलाले एक मिनेट ०.१४ सेकेन्ड र कल्पनाले एक मिनेट ०.७० सेकेन्डमा दूरी पूरा गरेका थिए ।



