राजविराज । सप्तरीको महदेवा गाउँपालिकाले विभिन्न तालिमका नाममा फजुल खर्च गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा पालिकाले विभिन्न गैरसरकारी संस्थासित सम्झौता गरेको तालिम अरू जिल्लामा भएको प्रतिवेदन दिए पनि महालेखको प्रतिवेदनले त्यसमा विश्वास गर्ने अवस्था नरहेको औंल्याएको छ ।
बालबालिकाको तालिमसमेत बाहिरी जिल्लामा गएर गर्ने, पालिका वा जिल्लामा तालिम गर्ने कक्ष हुँदाहुँदै इटहरीको महँगो होटलमा गएर आवासीय तालिम गर्नुले तालिमका नाममा फजुल खर्च भएको महालेखाले जनाएको हो । पालिकाले तालिमको क्रममा चिया प्रतिकप २ सय ९० तथा पानी प्रतिबोतल ६० का दरले खर्च भएकोसमेत उल्लेख गरेको छ ।

मूल्य अभिवृद्धि करमा दर्ता नै नभएका गैरसरकारी संस्थामार्फत लागत अनुमान, मौजुदा सूचीमा दर्ता सूचना प्रकाशन, राष्ट्रिय वा स्थानीयस्तरका दैनिक पत्रिकामा सूचना प्रकाशन गरी प्रस्ताव माग बेगर नै सम्झौता गरी भुक्तानी दिएकाले नियमसंगत नभएको महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले ठहर्याएको छ । पालिकाले ती गैरसरकारी संस्थाबाट भएका कामको मूल्यांकन र तालिम सञ्चालनको प्रतिफल र अनुगमन प्रतिवेदनबिना नै भुक्तानी गरेको पाइएको छ । संस्थामार्फत लागत अनुमान तयारी बेगर सोझै सम्झौता गरी पेस भएका बिल भरपाईका आधारमा मात्र भुक्तानी दिइनु अनियमित भएको प्रतिवेदनले ठहर गरेको छ । यसरी २३ लाख ९५ हजार रुपैयाँ पालिकाले आर्थिक वर्ष ०७७/७८ मा खर्च गरेको हो ।
द मिसन नेपाल, पाकिजा शैक्षिक सहयोगी संस्था नेपाल र समावेशी समाज विकास नेपाललाई यसरी अनियमित तरिकाले भुक्तानी दिइएको हो । २०७८ असार ११ र १२ मा कोभिड १९ रोग रोकथाम र नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सामाजिक जीवन केन्द्र नेपाललाई ४ लाख ९९ हजार रुपैयाँ पालिकाले भुक्तानी गरेको थियो । ३४ जना सहभागीलाई आवतजावतबापत् ५ सयको दरले दुई दिनको ३४ हजार हुनुपर्नेमा ६८ हजार खर्च लेखिएको, चिसोप्रति पिस १ सय ५० र चिया प्रति कप २ सय ९० तथा पानी प्रतिबोतल ६० का दरले बजार दरभन्दा बढी उल्लेख गरिएको छ । यसरी खाना, खाजा, चिया र पानीमा ८८ हजार रुपैयाँ फजुल खर्च गरेको महालेखाले औंल्याएको छ ।
प्रदेश खर्च मापदण्डबमोजिम कार्यक्रमतर्फबाट छात्रावासको व्यवस्था भए खानाबापत दैनिक ४ सयका दरले ३४ जनाको २ दिनको खाना खर्च २७ हजार २ सय हुनुपर्नेमा ४७ हजार रुपैयाँ लेखिएको छ । सहभागी स्टेसनरीबापत् प्रतिसहभागी एक सय ५० रुपैयाँका दरले १० हजार २ सय हुनुपर्नेमा प्रतिसहभागी ८ सय २० रुपैयाँका दरले लेखेको, प्रतिवेदन लेखनमा प्रस्तावअनुसार २ हजार खर्च लेख्नुपर्नेमा १२ हजार खर्च लेखेको महालेखाले औंल्याएको छ । २०७८ असार १५ र १६ मा ३० जना उपभोक्ता समितिका पदाधिकारीलाई तालिम सञ्चालन गर्न ४ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरिएको छ । उक्त तालिम भएको स्थान, सहभागी छनोटको आधार, वडाको सिफारिसलगायतका विवरण भुक्तानी फाइलमा समावेश छैन ।
पालिकाले २०७८ असारमा २५ जना किशोरीलाई सुनसरीको कोसी टापु होटलमा तालिम दिई भुक्तानी गरेको छ । तालिम गर्न पाकिजा शैक्षिक तथा सहयोगी संस्थालाई ४ लाख भुक्तानी भएको छ । सहभागी तथा प्रशिक्षकलाई दैनिक यातायात खर्चबापत् ७८ हजार ५ सय रुपैयाँको भरपाई पेस गरेकोमा पुनः सहभागीलाई ल्याउने लानेबापत गाडी भाडाको ४० हजार भुक्तानी दिइएको छ । होटल कोसी टापु सुनसरीको ५ दिनको १० वटा कोठाको भाडाबापत् १ लाख बिल पेस गरी भुक्तानी गरिएको छ । ०७८ असारकै जलवायु परिवर्तनसम्बन्धी तालिममा पनि बढी भुक्तानी भएको महालेखाको प्रतिवेदनले औंल्याएको छ ।



