जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट भएको छ । अध्यक्ष उपेन्द्र यादव अतिथि रहेको धनुषाको स्थानीय निर्वाचन सम्बन्धी समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट भएको हो ।
नामै किटेर केही नेताको अन्तर्घातका कारण जिल्लाका विभिन्न पालिकामा हार व्यहोर्नु परेको आरोप लागेपछि नेताहरूबीच विवाद भएको थियो ।

बैठकमा सबैला नगरपालिकाका जसपा अध्यक्ष वैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादव लगायतको समूहले गरेको अन्तर्घातका कारण विभिन्न पालिकामा हार व्यहोर्नु परेको आरोप लगाएपछि विवाद बढ्दै कुटाकुट भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
उनले साधु बसेको सिटमा नगरध्यक्ष यादव समर्थकहरूले हात हालेपछि दुवै पक्षबीच कुटाकुट भएको थियो ।
कार्यक्रममा सहभागी ती नेताले भने, ‘केन्द्रीय अध्यक्ष यादवको निर्देशनमा कुटाकुट गर्नेलाई सभाबाट बाहिर निकालिएपछि माहौल शान्त भएको थियो ।’
कुटाकुटमा सिकिन्दर सिंह यादव, जितेन्द्र मुखिया र अवधकिशोर रविदासलाई चोटपटक लागेको बताइएको छ । उनीहरूको अवस्था सामान्य रहेको ती नेताले जानकारी दिए ।



