मेयर डा नविन कुमार यादवसिरहा नगरपालिका

सिरहा । सिरहा नगरपालिकाका नवनिर्वाचित मेयर डा नविन कुमार यादवले नगरलाई सफा र सुन्दर बनाउने प्रतिबद्धता दोहोर्याएका छन् ।
गणतन्त्र दिवसको पूर्वसन्ध्यामा शनिवार विहान सिरहा सदरमुकाममा सरसफाई कार्यक्रममा सहभागी भएका मेयर डा यादवले सिरहा नगरपालिकावासीको अपेक्षामा खरो उत्रिने गरी काम गर्ने र नगरको मुहार परिवर्तन गर्ने धोको रहेको बताएका छन् । नगरको कार्यभार सम्हालेर नगरभित्रको वस्तुस्थिती, कर्मचारी, नवनिर्वाचित जनप्रतिनिधिको मनोभावना, नगरको जिम्मेवारीमा रहेको विषयगत कार्यालयवारे जानकारी लिई रहेको भन्दै नवनिर्वाचित मेयर डा यादवले चाँडै देखिने गरी एक्सन लिईने बताए ।
विभिन्न पक्षका व्यक्ति, सरोकारवाला, विज्ञ, नगरका नागरिकहरुसँग छलफलमा रहेको भन्दै मेयर डा यादवले सिरहा नगरपालिका पूरानो शैलीले नभएर नयाँ शैली र सोचका साथ आफ्नो जिम्मेवारीमा खरो उत्रिने बताएका छन् । ‘नयाँ जिम्मेवारी बहन गर्दै सिरहा नगरपालिकालाई सुन्दर, हराभर र स्वच्छ सहर बनाउँछु,’ मेयर डा यादवले भने,‘जिल्ला सदरमुकाम भएकोले चुनौती अत्याधिक रहेकोले ती सवलाई मनन गरी योजनाबद्ध रुपमा काम अगाडी बढाउँछु ।’

सिरहा नगरपालिकाको सेवा प्रवाहलाई चुस्त, दुरुस्त, प्रभावकारी र सहज बनाउन निर्देशन दिईसकिएको भन्दै उनले नगरपालिका कार्यालय र वडा कार्यालयहरुबाट सेवा प्रवाहमा कुनै अप्ठ्यारो र ढिलाई भएमा आफूलाई गुनासो गर्न अह्वान गरेका छन् । सिरहा नगरपालिका क्षेत्रका मतदाताले सिरहाको परिवर्तनको निम्ति आफूलाई जिम्मेवारी सुम्पिएको भन्दै डा यादवले मतदाताको अपेक्षा अनुसार सिरहा नगरपालिका क्षेत्रको हरेक क्षेत्रमा परिवर्तन देखिने गरी काम हुने बताएका छन् ।
शिक्षा, स्वास्थ्य, ढल निकास, सरसफाई, वातावरण स्वच्छता, मल, बीउ विजन, सिचाई लगायतका क्षेत्रमा योजनाबद्ध रुपमा अगाडी बढ्न विभिन्न समूहलाई परिचालन गरिने र दिगो हुने गरी काम अगाडी बढाउने उनले बताएका छन् ।
‘अहिले सूचना र तथ्याक संकलनमा रहेको छु,’ मेयर डा यादवले भने,‘तथ्यांक आईसकेपछि नीति नियमलाई पालन गर्दै सेवा प्रवाह अगाडी बढ्छ ।’

अगामी दिनमा देखिने गरी हुने कामहरुमा आफूलाई सहयोग गर्न तयार रह्न अपिल गरेका छन् । ‘केही निर्णयले कतिपयलाई तत्काल अप्ठ्यरो हुन सक्छ,’ मेयर डा यादवले भने,‘भोलीका दिनमा त्यसको प्रतिफल राम्रो हुने आशाका साथ तयार रह्न नगरवासीसँग अपिल गर्दछु ।’
हातमा हात र काँधमा काँध मिलाएर अगाडी बढ्दै जाने र त्यसले नै नगरको दिगो विकास, सुशासन स्थापित गर्न मद्दत गर्ने मेयर डा यादवले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय