फुटबलराजर्षि जनक

सर्लाही । सर्लाहीको बागमतीमा आयोजित छैटौँ राजर्षि जनककप फुटबल प्रतियोगिता चैत्रमा हुने भएको छ ।

मधेश प्रदेशकै ठूलो धनराशिको राजर्षि जनककप फुटबल प्रतियोगिता बागमती नगरपालिका–११ कर्मैयास्थित स्वर्गीय सन्तोष स्मृति खेल मैदानमा चैत्र २ गतेबाट प्रतियोगिता सुरु हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

प्रतियोगितामा आयोजक बागमती नगरपालिका र बागमती युवा क्लब समेत गरी १२ वटा क्लबले सहभागिता जनाउने भएका छन् । जसमा एक विदेशी क्लब समेत रहेका क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा आयोजक बागमती युवा क्लबको एकवटा टिमसँगै नेपाल पुलिस क्लब काठमाडौं, एपिएफ काठमाडौँ, हिमालयन शेर्पा काठमाडौँ, एनआरटी क्लब काठमाडौं, सुदूरपश्चिम–११, धनगढी, बिएफसी–११ चितवन, मनाङ मर्स्याङ्दी क्लब काठमाडौँ, मच्छिन्द्र फुटबल क्लब काठमाडौँ, अभेनिएर फुटबल क्लब क्यामरुन, जनजागृति युवा क्लब सिमरा र पिप्ले युथ क्लब हेटौडाले सहभागिता जनाउँदै छन् ।

८० लाख रुपैयाँ बढी लागत अनुमान गरिएको प्रतियोगिताअन्तर्गत खेलको विजेताले नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख हात पार्नेछन् । हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मैनालीले जानकारी दिए। त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने सर्लाही बागमती निवासी एक खेलाडीलाई बागमती राइजिङ अफ दि इयर प्लेयर्स घोषणा सहित एक थान मोटरसाइकल प्रदान गरिने समेत जानकारी दिएका छन् ।

फुटबल प्रतियोगिता सफल रूपले सम्पन्न गर्नका लागि प्रथम पुरस्कारका लागि प्रायोजक खोजिँदै छ भने द्वितीय पुरस्कारका लागि धुलिखेल निर्माण सेवा प्रालिबाट प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिताका लागि बागमती नगरपालिका सहित स्थानीय तह, विभिन्न गैरसरकारी संघ संस्था, उद्योगी व्यापारीसँग सहयोग संकलन गरिएको र विभिन्न व्यापारिक हाउसको प्रायोजन रहने आयोजक बागमती नगरपालिका उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिइन् ।

प्रतियोगिता सुरक्षित रूपले सम्पन्न गर्नका लागि सम्पूर्ण पूर्वाधार तयार भइसकेको आयोजकले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय