सिरहा । सिरहा नगरपालिकाको सहयोगमा सुरु भएको नगरस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ४ ले विजयी सुरुवात गरेको छ ।
“युवाको सम्मान, नगरको पहिचान, स्थानिय स्तरमा खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मूल नाराका साथ नगरस्तरीय फुटबल प्रतियोगिताको सिरहा नगरपालिकाका मेयर डा. नविन कुमार यादव र प्रमुख प्रशासकिय अधिकृत बलिराम यादवले संयुक्त रुपमा एक समारोहका बीच उद्घाटन गरे । समारोहका प्रमुख अतिथि मेयर डा यादव र प्रमुख प्रशासकिय अधिकृतले रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेका हुन् ।
सदरमुकाम सिरहाको सूर्यनारायण सत्य नारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा शनिवार भएको उद्घाटन खेलमा वडा नम्बर ४ रमौलले वडा नम्बर १६ माडरलाई १ गोल अन्तरले पराजित गरेको छ ।


३५/३५ मिनेटको खेलमा वडा नम्बर ४ का तर्फबाट जर्सी नम्बर १० का मोहम्मद अफसर सिद्धिकीले एक मात्र निर्णायक गोल गर्न सफल भएका थिए । खेलको ४२ औं मिनेटमा सिद्धिकीले गोल गरेका थिए । उद्घाटन खेलमा बलियो पकड बनाएको रमौलका खेलाडीहरुले सन्तुलित भएर खेल पस्किदा विजयी भएको आयोजक सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् ।
दोस्रो दिन दुई वटा खेल आज (आइतबार) हुने तालिका रहेको छ । पहिलो खेल वडा नम्बर १२ सारस्वर र वडा नम्बर १४ खिरौनावीच दिनको १ बजे हुने भएको छ । यसैगरी दोस्रो खेल वडा नम्बर ११ भलुवाही र वडा नम्बर १९ सन्हैठावीच दिनको ३ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले २२ वटै वडामा रहेका युवाहरुलाई खेलप्रति आकर्षित गर्न र भविष्यमा चर्चित खेलाडी उत्पादन गर्ने उदेश्यका साथ नगरस्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको मेयर डा यादवले बताएका छन् । लागुऔषधको दुरव्र्यसनमुक्त भएर खेलकुदमा भविष्य सुनिश्चित गर्न सकिनेतर्फ युवालाई आकर्षित गर्ने आफ्नो लक्ष्य भएको भन्दै मेयर डा यादवले २२ वटै वडामध्ये १६ वटाको मात्र सहभागिता हुन लागेको बताएका छन् । २२ वटै वडावाट खेलाडीहरुको सहभागिता हुनुपर्ने भएपनि समावेश हुन नसकेको वडाको विषयमा आफूले सम्बन्धित वडा समितिसँग सम्वय गरी आवश्यक पहल गर्ने बताएका छन् । यस प्रतियोगिताबाट कम्तिमा दुई वटा राम्रो फुटबल टोली घोषणा हुनेगरी पहिलो चरणमा खेलाडी समेत छनौट हुने मेयर डा यादवले बताएका छन् । खेलमा सहभागि हुँदा पूर्ण रुपमा अनुशासन कायम राख्नुपर्ने र अनुशासन विपरीतका कार्य गर्नेलाई तत्काल खेलबाट बाहिर गर्ने मेयर डा यादवले बताएका छन् ।


उद्घाटनमा सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादव, संविधानसभा सदस्यद्वय आशा यादव, प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् मधेस प्रदेश कार्यालय, जनकपुरधामका निर्देशक नागेन्द्र प्रसाद साह, सिरहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बलिराम यादव, स्काउट मधेश प्रदेश संयोजक दिनेश कुमार यादव, सिरहा नगरपालिकाका वडाअध्यक्ष र कार्यापालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।






