सिरहाको सहलेस युथ क्लब मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
पाहुना टोली क्यामरुनको एभिनीयर फुटबल क्लबको चुनौतीलाई शुक्रबार २-१ गोल अन्तरले पन्छाउँदै सिरहाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

सिरहाको जितमा विदेशी खेलाडी फोडे फोफोनाले दुवै गोल गरेका हुन्। खेलको ७ र ६७ औँ मिनेटमा उनले गोल गर्दा टिमको जित निश्चित भयो।
संघर्षपूर्ण खेलको ७औँ मिनेटमा डी-बक्सभित्र प्राप्त बललाई फोडेले जाली चुमाउँदा क्यामरुन सुरुवाती दबाबमा पर्यो।
तर, खेलको पहिलो हाफमै क्यामरुन खेलमा फर्कियो। पहिलो हाफको अतिरिक्त समयमा क्यामरुनका सोङ्गले गोल गर्दै खेललाई १-१ को अवस्थामा पुर्याएका हुन्।
सिरहाका दुई जना खेलाडीलाई बिट गर्दै सोङ्गले प्रहार गरेको बलले पोस्टको दिशा लिँदा पहिलो हाफ बराबरीमा सकियो। ६७ औँ मिनेटमा सिरहाले अर्को गोल थप्दै नतिजा आफ्नो पक्षमा पार्यो।
डी-बक्सभित्र क्यामरुनका एनिसको हातमा बलले लागेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै फोडेले दोस्रो गोल गरेका हुन्।
खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि नतिजा विपक्षीलाई सुम्पँदै क्यामरुन प्रतियोगिताबाट बाहिरियो। क्यामरुनले ६०-४० को अवस्थामा प्रदर्शन गर्दा पनि जित निकाल्न सकेन।
सिरहाको तुलनामा गोल गर्ने अवसर क्यामरुनले धेरै पाएको थियो। खेलको म्यान अफ दी म्याच सिरहाका पेपे घोषित भए। उनले नगद ५ हजार पुरस्कार पाए। शनिबार विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौं र सहरा क्लब पोखराबीच प्रतिस्पर्धा हुने छ।





