स्वास्थ्य बिमा

सरकारले ६ वर्षअघि स्वास्थ्य बिमा कार्यक्रम थालेर स्वास्थ्य सेवाका क्षेत्रमा सकारात्मक पाइला चालेको थियो । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न यस खाले कार्यक्रम आवश्यक थियो/छ । बिमितको आर्थिक जोखिम न्यूनीकरण गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न यस्तो कार्यक्रमले ठूलो टेवा पुर्‍याउन सक्छ ।

यसबीचमा सरकारले सबैजसो जिल्लामा यो कार्यक्रम सञ्चालन गरिसकेको पनि छ । देशभर करिब ४० लाख जना बिमित छन् । सरकारी तथा गैरसरकारी गरी करिब सवा ४ सय स्वास्थ्य संस्था यस कार्यक्रममा सहभागी छन् । दैनिक १५ हजारजति बिमितले यो सेवा लिइरहेको स्वास्थ्य बिमा बोर्डको तथ्यांक छ, तथापि कार्यक्रम सोचेअनुरूप प्रभावकारी रूपमा सञ्चालन भएको पाइँदैन ! सेवाभन्दा बढी सास्ती पाएको कतिपय बिमितको गुनासो छ ।

निश्चय पनि यो कार्यक्रमबाट नियमित औषधि सेवन गर्नुपर्ने कतिपय बिरामीले ठूलो राहत पाएका छन् । यसअघि खर्च अभावमा उसै बेथा बोकेर बस्नेहरू अहिले उपचारका निम्ति अस्पताल पुग्न थालेका छन् । स्वास्थ्य जाँच र उपचार निःशुल्क हुने भएपछि अस्पतालहरूमा बिरामीको चाप बढेको छ । तर सरकारले उचित व्यवस्थापन मिलाउन नसक्दा कुनै न कुनै बहानामा बिमितले सेवा नपाउने घटना पनि उत्तिकै सामान्य बन्न थालेको छ । आइतबार मात्रै यसै दैनिकमा समाचार छ— भक्तपुरको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले बिमा सेवा बन्द गरेपछि त्यहाँ सेवा लिइरहेका दैनिक ६ सयदेखि ७ सय जनासम्म बिरामी मारमा परेका छन् ।

सरकारले समयमा स्वास्थ्य बिमाको रकम उपलब्ध नगराउँदा बाध्य भएर स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतका सेवा तत्कालका लागि बन्द गर्नुपरेको अस्पतालको भनाइ छ । हुन पनि, करिब ६ करोड रुपैयाँभन्दा बढी बिमाको रकम आउनै बाँकी भएपछि अस्पताललाई सेवा दिन सकस पर्नु अन्यथा होइन । अस्पतालले ल्याब, फार्मेसी र अन्य सेवामा गरी दैनिक करिब १० लाख रुपैयाँ बराबरको बिमाबापत सेवा गर्दै आएको थियो । बिमा बोर्डले बिमितहरूलाई भक्तपुर अस्पतालबाट सेवा लिन सकिने भने पनि त्यहाँ पहिल्यै क्षमताभन्दा धेरै बिरामीको चाप छ, सेवा लिन सहज छैन । त्यसैले बिमितहरू बढी शुल्क लाग्ने निजी अस्पताल धाउन बाध्य छन् । अन्यत्र पनि बिमितहरूले यस्तै अनेक समस्या भोगिरहेका छन् ।

खास गरी बिमा बोर्डले सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई समयमै रकम भुक्तानी नगरिदिँदा बिरामीहरू समस्यामा परेका छन् । तसर्थ बोर्डले यो समस्याको समाधान खोज्नुपर्छ । भक्तपुरमा मात्रै अरू ५ वटा स्वास्थ्य संस्थाको जम्मा करिब १६ करोड रुपैयाँ पनि बोर्डले भुक्तानी गर्न बाँकी छ । समयमा लागत रकम भुक्तानी हुन नसक्दा अस्पतालहरूलाई सेवा दिन सकस छ । निश्चित कार्यविधिअनुरूप बिरामीले बिमा सेवा पाउने भएपछि यसमा अनावश्यक विलम्ब गर्न जरुरी छैन । स्वास्थ्य सेवासम्बन्धी एउटा राम्रो कार्यक्रमलाई सरकारी अव्यवस्थापन र ढिलासुस्तीको मारमा पार्नु हुँदैन । निश्चय पनि यसका प्रक्रियाहरू पूरा गर्नुपर्छ, तर त्यही बहानामा कार्यक्रमकै प्रभावकारितामा प्रश्न उठ्ने गरी र बिमितहरूलाई नवीकरणमा रुचि नै नजाग्ने गरी ढिलासुस्ती हुनु हुन्न । बोर्डले जनशक्ति थपेर हुन्छ कि प्रविधिको गुणस्तर बढाएर हुन्छ, छिटोछरितो सेवा वितरण गर्न सक्नुपर्छ ।

यसअतिरिक्त, कति जिल्लामा निःशुल्क औषधिका निम्ति पुगेका बिमितहरूलाई अस्पताल फार्मेसीका कर्मचारीले सम्बन्धित औषधि नभएको भन्दै फर्काइदिने गरेको गुनासो छ । अर्कातिर, बिरामीलाई सेवासुविधा दिएकोभन्दा धेरै परिमाणको रकम दाबी गरेको पनि पाइएको छ । सरकारले बिमा कार्यक्रमबाट १ लाख रुपैयाँ बराबरको औषधि तथा उपचार खर्च निःशुल्क गराउँदै आएको छ । बिमितहरूले अस्पतालका विभिन्न सेवाबाहेक तोकिएका औषधि पनि निःशुल्क पाउँछन् । यसका निम्ति ५ जनासम्मको परिवारले प्रतिवर्ष ३ हजार ५ सय रुपैयाँ प्रिमियम शुल्क तिर्नुपर्छ, त्यसभन्दा बढी सदस्य संख्या भए प्रतिव्यक्ति थप ७ सय रुपैयाँ तिर्नुपर्छ ।

अति विपन्न र अति अशक्त अपांगता भएका लगायतका लागि सरकारले नै यस्तो रकम तिरिदिन्छ । तैपनि, कति जिल्लामा बिमाप्रति जनचासो नै कम छ । लक्षित वर्गकाले नै बिमा गर्न रुचि देखाइरहेका छैनन्, तिनलाई यसको महत्त्व बताएर कार्यक्रमको दायरामा ल्याउन सरकारलाई चुनौती छ । त्यसका निम्ति पनि सबैभन्दा पहिला त यस कार्यक्रमअन्तर्गतको स्वास्थ्य सेवालाई प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्छ, आएका गुनासाहरूको उचित सुनुवाइ हुनुपर्छ । बिमितहरूलाई दिइने सेवा–सुविधा सम्बन्धित स्वास्थ्य संस्थाहरूको बोझ होइन, राज्यको दायित्व हो, त्यसैले बिमितहरूको सेवा–सुविधामा कुनै हेलचेक्य्राइँ गरिनु हुन्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!