गत साल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान कोरोना कहरसँगको एकताबद्ध लडाइँ हो । सक्नेले सक्रिय पाराले र नसक्नेले सामाजिक दूरी कायम गरेर, मास्क लगाएर र नियमित रूपमा साबुन पानीले हात धोएर आफू सुरक्षित हुन र आफ्ना कारणले अर्कोलाई जोखिममा नपार्न सरकारले बारम्बार अनुरोध गर्दै आएको छ । बिरामी ज्यामितीय हिसाबले वृद्धि हुन गएकाले अस्पताल भर्ना लिन नसक्ने अवस्थामा छन् । भर्ना भएकालाई अक्सिजन पुुग्न सकेको छैन । वृद्धवृद्धा मात्र नभएर कोरोनाको प्रभाव समूहमा स्कुले बाबुनानीसमेत परेका छन् । दर्जनांै

शिक्षकले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । एक किसिमले राज्यले स्वास्थ्यमा संकटकाल लगाउनैपर्ने समय आइसकेजस्तो छ । यसकारण आजको पहिलो तथा अनिवार्य आवश्यकता कोरोनाविरुद्ध ऐक्यबद्धता नै हो ।

आजसम्म पढाइमा जोड दियौं, अब सिकाइमा दिऔं
आजको पहिलो तथा अनिवार्य आवश्यकता कोरोनाविरुद्ध ऐक्यबद्धता नै हो

यतिबेला नेपालका केही शिक्षाविद्लाई विद्यालयस्तरीय परीक्षा र पठनपाठनको चिन्ता परेको देखिन्छ । उहिल्यै एक जना बटुवा भिरबाट लडेर मरेथ्यो रे । उसलाई उद्धार गर्न जानेहरूमध्ये एक जनाले उसका आँखा हेर्दै ‘मान्छे मरे पनि यति ठूलो भिरबाट लड्दा धन्न भगवान्ले आँखा जोगाइदिएछन्’ भन्थ्यो रे । मान्छे मरेर गइहालेपछि आँखा जोगिनु र नजोगिनुसँग के अर्थ रह्यो र ? यतिबेला दिनहुँ कोरोनाबाट आक्रान्त हुँदा पनि पढाइ, परीक्षा र शैक्षिक सत्रको भुत सवार गराएर कलिला बाबुनानीको दिमागमा थप दबाब दिनु भनेको मरेको मान्छेको आँखा जाँचेजस्तै हो । अहिले जिउ जोगाउनु नै सबैभन्दा ठुलो कुरा हो । आफू जोगिने र आफ्ना कारणले अरूलाई असर नपार्ने उपाय अवलम्बन गर्नु नै सबैभन्दा ठूलो बुद्धिमत्ता हो । समयको माग र आवश्यकता पनि यही हो । ‘जिउ रहे घिउ खाउँला’ यत्तिकै बनेको उखान होइन । परीक्षा, पढाइ र शैक्षिक सत्र ज्यान जोगिएपछि सम्हालौला ।

जतापनि उस्तै

यतिबेला नेपाल मात्र नभएर विश्वका २१० भन्दा बढी देश कोरोना संक्रमणको महामारीमा छन् । राजादेखि रङ्कसम्म सबै त्राहिमामको अवस्थामा छन् । न धनी, न गरिब, न ठूूलो पद न सानो, न जात न भात सबैलाई समान प्रकृतिले आक्रमण गर्ने खुबीका कारण सबै तह र तप्काका मानिस यतिबेला कोरोनासँग तर्सेका छन् । भीमनिधि तिवारीले राजा त्रिभुुवन मर्दा आफैं क्रियामा बस्दै लेखेका थिए, ‘रैतीजस्तै सरल हरियो बाँसमा लम्पसार, के यो होइन, ध्रुुवसरी सत्य साम्यवादी विचार ।’ अहिले लगभग सबैको हालत यही छ । प्रकृतिले एक किसिमले न्याय गरेको छ । विश्वका ७ अर्ब मानिस त्राहीमामको अवस्थामा छन् । कति त घरमै थुनिएर बसेका छन् । मै हुँ भन्नेहरूसमेत घरभित्र छन् । आजसम्म विभिन्न देशका ३२ लाखभन्दा बढीको संख्यामा मानिस मरिसकेका छन् । १५ करोडभन्दा बढी प्रभावित छन् । १ लाख बढीको अवस्था सिरियस देखिन्छ ।

बिरालो बाँधेर श्राद्ध नगरौं

यतिबेला नेपालका केही मिडिया र सरकारी सम्बद्ध पक्षको ध्यान पठनपाठनतिर र खासगरी कोरोना संक्रमणकै कारण हुन नसक्ने देखिएको एसइई परीक्षातर्फ केन्द्रित देखिन्छ । कक्षा १० को अन्त्यमा लिइने एसइई परीक्षा तयारी भएर पनि कोरोनाका कारण अन्योलमा छ । तर, अहिलेको समय परीक्षाको चिन्ता लिने समय होइन ।

परिस्थिति सामान्य हुँदो हो त यतिबेला नयाँ शैक्षिक सत्रको सुरुको समय हो । अब हिजोझैं २ सय २० दिन विद्यालय खोल्नुपर्ने, १ सय ८० दिन पढाइ हुनुपर्ने भनेर कर्मकाण्डीय विधि पूरा गर्नेबेला आज छैन । आजसम्म हामीले बिरालो बाँधेर श्राद्ध ग¥यौं । अब खोजीखोजी बिरालो नबाँधांै । अब विद्यालय कतिदिन खोल्नुपर्छ, शैक्षिक सत्र कहिले सुरु गर्ने र कहिले अन्त्य गर्ने यो चासो होइन । चासो सिकाइ भयो कि भएन भन्ने हो । आजसम्म पढाइमा जोड दियौं । अब सिकाइमा दिऊ । सिकाइका तीन तह हुन्छन् । औपचारिक, अनौपचारिक र अरीतिक ।

अहिलेको समय भनेको कोरोना संकटको समय हो । यतिबेला प्रत्येक विद्यार्थीलाई जोेसँग पहुँच छ, उनीहरूलाई नेट, इन्टरनेटद्वारा सोधखोज गरी सिकाइका लागि प्रेरित गर्न सकिन्छ । जोसँग मोबाइल वा ल्यान्ड लाइन मात्र छ, उनीहरूलाई त्यसकै माध्यमबाट प्रश्नोत्तर गरी सिकाइ जारी राख्न भन्न सकिन्छ । परीक्षा पद्धति पनि यसैगरी सञ्चालन गर्न सकिन्छ । आम्नेसाम्ने मोडमा मात्र सिकाइ मापन सम्भव छ भन्ने कुरालाई चुनौती दिन सक्नुपर्छ । परीक्षाका औपचारिक, अनौपचारिक सबै पद्धति अवलम्बन गर्नुपर्छ । अब घरका अग्रजबाट सिकाइ गर्न भन्न सकिन्छ ।

बाउले आरनमा हँसिया अर्चापेको हेरेर कतिपयका सन्तान त्यस्तै बनेका कंैयन् उदाहरण हाम्रा समाजमा आज पनि पाइन्छन् । सिकर्मीको छोराले बाबुले नसिकाउँदा नसिकाउँदै पनि बाबुको काम हेरेर ऊभन्दा सिद्धहस्त बनेर निस्केका बग्रेल्ती उदाहरण हामीसँग छन् । उखु पेल्ने कोल बनाउन हामीलाई कुनै विज्ञानले सिकाएको थिएन । पानीघट्ट धेरै पढेर बनाइएको प्रविधि थिएन । हाम्रा पुर्खाका यी सीप कुनै वैज्ञानिकका भन्दा कम छैनन् । यसैले अहिलेको विषम् परिस्थितिमा सिकाइका विकल्प अनेक छन् । शैक्षिक सत्र खेर गयो भनेर चिन्ता लिन जरुरी छैन । जब जागा तब सबेरा भनेझैं जब सिकाइ उपलब्धि पूरा हुन्छ तब शैक्षिक सत्र भन्न किन नसक्ने ?

जहाँसम्म कक्षा १० को अन्त्यमा लिने एसइई परीक्षा हो । यसै पनि यो परीक्षा ऐन, कानुनविपरीत छ । नेपालको संविधान २०७२ को अनुसूची ८ ले माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई दिइसकेको छ । सो तहलाई नै परीक्षा व्यवस्थापनको जिम्मा दिँदा पनि हुन्छ

अबको विकल्प

परिवर्तित सन्दर्भमा कक्षा १– ८ आधारभूत र ९–१२ माध्यमिक तह मानिन्छ । अहिलेसम्मको हाम्रो अभ्यासले सिकाइ उपलब्धिको प्रमाणीकरण परीक्षाबाट मात्र गर्न भन्दछ । यसमा पुनर्विचार गर्नैपर्छ । कक्षाको अन्त्यमा लिइने परीक्षा विद्यालय आफैंले लिन सके पनि आधारभूत तहको अन्त्यमा भने तेस्रो पक्षबाट मात्र परीक्षा सञ्चालन गर्ने कानुनी व्यवस्था छ । यसरी हेर्दा आधारभूत तहको अन्त्यमा लिने परीक्षा भनेको कक्षा ८ र १२ को परीक्षा मात्र हो । मौजुदा ऐन, कानुनले कक्षा ८ को परीक्षा ७५३ स्थानीय सरकारमार्फत् लिने व्यवस्था गरेको छ । यसका लागि ठाउँ, अवस्था र अनुकूलता हेरी स्थानीय तहले कुनै पनि बेला परीक्षा सञ्चालन गर्न सक्ने हुँदा संघीय सरकारले चिन्ता लिइरहन जरुरी देखिँदैन ।

जहाँसम्म कक्षा १० को अन्त्यमा लिने एसइई परीक्षा हो । यसै पनि यो परीक्षा ऐन, कानुनविपरीत छ । नेपालको संविधान २०७२ को अनुसूची ८ ले माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई दिइसकेको छ । सो तहलाई नै परीक्षा व्यवस्थापनको जिम्मा दिँदा पनि हुन्छ । एसइई परीक्षा व्यवस्थापनको काम प्रदेशस्तरमा हुने पनि उल्लेख छ । यसो गर्दा राष्ट्रिय परीक्षा बोर्ड बेरोजगार हुने र परम्परागत विरासत धानी आएको परीक्षा नियन्त्रण कार्यालय पनि भूमिकाविहीन हुने डरले मात्र संघीय सरकारले सो परीक्षा विकेन्द्रीकृत गर्न सकेको छैन । यसका लागि थप कार्यविधि र नियमावली बनाउन सरकारले नै आलटाल गरेको छ । सरकार तदर्थ पारामा अघि बढन खोजेको छ ।

गत साल यसरी रोकिएको परीक्षा पुनः होम सेन्टरमा सञ्चालन गर्ने विषयमा छलफल गर्ने भनी परीक्षा नियन्त्रण कार्यालयले परिपत्र गरेको थियो । तत्कालीन शिक्षामन्त्रीले यस विषयमा छलफल चलाएको कुरा शिक्षा प्रवक्ताले सूचना जारी गरेर जानकारी दिएका थिए । अन्त्यमा कोरोना कहरका कारण परीक्षाका सबै विकल्प सम्भव नदेखी विद्यालयले लिएको आन्तरिक परीक्षालाई नै आधार मानी नतिजा प्रमणीकरण गरिएको थियो । सोही बेलादेखि एसईई अब उप्रान्त संघीय सरकार मातहत सञ्चालन नगर्ने बहस भए पनि यो वर्ष पुनः संघीय सरकारमार्फत् नै सञ्चालन गर्नेगरी समय तालिका प्रकाशित भइसकेको थियो । सरकार शैक्षिक विकेन्द्रीकरणका लागि अझैसम्म पनि तयार हुन सकेको देखिँदैन ।

अहिलेको अवस्थामा कक्षा १० कुनै पनि तहको अन्त्य होइन । तहको अन्त्य त कक्षा ८ र १२ मात्र हुन् । तेस्रो पक्षले लिने भनेको यिनै तहको परीक्षा मात्र हो । यसैकारण एसईईका हकमा विद्यालयलाई नै पुरा जवाफदेही बनाउन सकिन्छ । यो सम्भव नभए स्थानीय तहले व्यवस्थापन गर्न सकिन्छ । उसलाई जिम्मा दिन सकिन्छ । यसका लागि अब कम्तीमा पनि परीक्षा केन्द्र र परीक्षाको तानाबुना केन्द्रबाट नबुनीकन परीक्षा विद्यालयस्तरबाट लिने व्यवस्था गर्न सकिन्छ । हरेक विद्यालयलाई परीक्षाको तिथि मिति दिएर परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको जिम्म्मा दिन उपयुक्त हुन्छ । यसको समन्वय स्थानीय शिक्षा शाखालाई दिन सकिन्छ । यसो हुँदा कसैमाथि पनि परीक्षाको दबाब पर्दैन । सहज वातावरण हुन्छ । नियम कानुनको पनि पालना हुन्छ ।

कक्षा ११ का हकमा पनि त्यही गर्न सकिन्छ, जो कक्षा १० का लागि गरिन्छ । किनभने यो पनि तहको अन्त्यको कक्षा होइन । विद्यालय आफैंले यो कक्षाको परीक्षा व्यवस्थापन र नतिजा प्रकाशनको काम गर्दा राष्ट्रिय परीक्षा बोर्डको केही रोजगारी त गुम्छ तर, त्योभन्दा बढी परीक्षा किफायती हुन गई बचत भएको रकमसमेत कोरोना कोषमा राख्न सकिन्छ ।

कक्षा १२ माध्यमिक तहको अन्तिम कक्षा भएको र यसको नतिजाका आधारमा विद्यार्थीको आगामी पठनपाठन दिशानिर्देश हुने हुँदा परिस्थिति साम्य भएपछि राष्ट्रिय रूपमा सञ्चालन गर्न सकिन्छ । यसका लागि आवश्यक परे केही महिना शैक्षिक सत्र धकेलिए पनि आपत्ति मान्नु हुँदैन । किनभने यो अवस्था नै विषम परिस्थितिको अवस्था हो । अहिले नै शैक्षिक सत्रबारे चिन्ता लिनुजरुरी छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय