सिरहा । सुशासन कायम गराउने अड्डाको रुपमा रहेको जिल्ला प्रशासनमा फेरी अतिरिक्त शुल्क (घुस) लिने क्रम बढेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाको प्रत्येक फाँटमा विभिन्न जालझेल देखाएर अतिरिक्त शुल्क (घुस) लिने क्रम बढेको छ । नागरिकता, नागरिकता प्रतिलिपी, राष्ट्रिय परिचय पत्र, इ–पासपोर्टदेखि मुद्दा मामिलासम्ममा अवैध असुली धन्दा सुरु भएको छ ।
यसका निम्ति विचौलियादेखि जिल्ला प्रशासन कार्यालयका कर्मचारीसम्मको आफ्नो संजाल विस्तार गरेको छ । विचौलिया र कर्मचारीले अवैध असुली (घुस) लिनेमा सक्रिय भएसँगै गाउँगाउँबाट जिल्ला प्रशासन पुग्ने गरिब विपन्न सेवाग्राही मारमा परेका छन् । सदरमुकाम आउन घण्टौ लाग्ने, यातायातको साधनको भाडा दिनुपर्ने बाध्यता वीच जिल्ला प्रशासनका कर्मचारी सिण्डिकेट खडा गरी घुस लिने गरेका छन् ।
स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा नागरिकताको निम्ति अनावश्यक रुपमा प्रहरी इन्क्वाईरीको नाउँमा २ हजारदेखि ४ हजारसम्म असुली गरिन्छ । विचौलियाको १ हजारदेखि १५ सय फाँट मिल्ने र २५ रुपैयाँ जिल्ला प्रशासनका कर्मचारीले लिने गरेको स्रोतको दावी छ । चार हजारसम्म रकम घुुस दिदा प्रहरी इन्क्वाइरी माग गरिएका व्यक्तिको नागरिकता सोही दिन मिल्ने गरेको स्रोतको दावी छ ।

त्यससँगै प्रतिलिपि फाँटमा पनि अवैध असुली बढेको छ । प्रतिलिपि नागरिकता बनाउन खोज्न समय लाग्ने भन्दै सेवाग्राहीलाई फर्काउने गरेको र रकमको कुरा मिलेपछि एकैदिनमा प्रतिलिपि नागरिकताको काम हुने गरेको जिल्ला प्रशासन कार्यालय सिरहाको गतिविधि सुक्ष्म तरिकारले निगरानी गरिरहेको स्रोतको भनाई छ ।
यता जिल्ला प्रशासनमा राष्ट्रिय परिचय पत्रको इन्ट्रीको नाउँमा पनि घुस लिने गरेको पाईन्छ । राष्ट्रिय परिचयपत्रको नाउँमा हुने अवैध असुलीवारे प्रमुख जिल्ला अधिकारीसम्म सूचना पुगेको छ । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले अतिरिक्त शुल्क (घुस) नलिन कडा निर्देशन दिएपनि अवैध असुली जारी रहेको छ ।
राष्ट्रिय परिचयपत्रमा पनि सिण्डिकेट नै लागू भएको छ । डाटा इन्ट्री गर्ने कर्मचारी समेतले विचौलियासँगको सेटिङमा घुस रकम असुल्ने गरेको पाईन्छ ।
ई–पासर्पोटमा मोटो रकम असुली
जिल्ला प्रशासन कार्यालय सिरहामा अहिले नागरिकता, प्रतिलिपि पछि सवैभन्दा वढी कमाई हुनेमा हालै सुरु भएको ई–पासर्पोट हो । अहिले ई–पासपोर्टका नाउँमा जिल्ला प्रशासनका कर्मचारीले मोटो रकम असुली गर्न थालेका छन् ।
३१ जनवरीदेखि सिरहामा ई–पासपोर्ट दिने सेवाको थालनी भएको छ । दैनिक १० देखि ४० जनासम्मको डकुमेन्ट अपलोड गरी राजश्व लिने गरेको छ । ई–पासर्पोटमा ३ हजारदेखि साढे चार हजारसम्मको असुली सेवाग्राहीबाट गरिदै आएको छ । गाउँ देहातबाट आउने सेवाग्राही आफ्नो ई–पासर्पोटको काम एकै दिनमा सक्न घटौं लाईन लाग्नुपर्ने बाध्यता समेत रहेको छ । त्यही बाध्यताको फाईदा उठाउन विचौलिया सक्रिय भएको र कर्मचारीको सेटिङमा अवैध असुली थालिएको छ । घुस रकम नदिनेलाई जिल्ला प्रशासन सिरहाका कर्मचारीले ‘आज हुँदैन, कोटा फूल भयो, अर्को दिन आउनु’ भन्दै धम्काएर फिर्ता पठाउने गरेका छन् ।
जिल्ला प्रशासनमा बढ्दो घुस
असुली कार्यालय सहयोगीदेखि फाँटका इन्चार्ज र अधिकृतसम्मले पाउने गरेका छन् । सवैको आ–आफ्नै रेट रहेको कर्मचारीसँगको सेटिङमा काम गर्दै आएका एक जना विचौलियाले नाम नराख्ने शर्तमा अपन दैनिकलाई बताए ।
जिल्ला प्रशासन कार्यालय सिरहामा सर्वसाधारण सेवाग्राहीमाथी चरम लुट भईरहेको युवा अरविन्द यादवले बताए । हरेक फाँटमा कर्मचारीहरु असुलीमा लागेपछि सर्वसाधारण नागरिक प्रताडित हुन पुगेको यादवको बुझाई छ ।
प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी मिटिङ, कार्यक्रममा कार्यालय बाहिर पुग्दा जिल्ला प्रशासन कार्यालयमा झन वेतिथि बढ्ने गरेको छ । कार्यालय प्रमुख नै बाहिर गईसकेपछि कर्मचारीहरुको मनोपोली झन् बढ्ने गरको छ । स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारी कार्यालय बाहिर निस्किएसँगै कर्मचारीहरु सेटिङमा काम गर्न वढी सक्रिय हुने गरेका छन् । एक जना जानकार भन्छन्,‘यस अघिका प्रजिअ सेवाग्राहीका कामलाई प्राथमिकतामा राख्न आफैं बाहिर आएर बस्थ्यो र कुरा सुनेर समस्या समाधान गथ्र्यो । अहिलेका सिडियोले त्यसरी निगरानी गर्न नसक्दा घुस लिने कम झन् वढी मौलाएको छ ।’
उजुरी आएको छैन् : सूचना अधिकारी झा
यता जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी भवेश झाले कुनै पनि सेवा प्रदान गर्दा घुस लिएको कुनै गुनासो नआएको बताएका छन् । कार्यालयका कर्मचारीले घुस लिएको जानकारी आएमा आवश्यक कारबाही गर्ने दावी गर्दै सूचना अधिकारी झाले कोटा प्रणाली रहेकोले ई–पासपोर्टमा केही समस्या देखिएको बताएका छन् ।



