कोरोना भाइरसकोरोना मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक

काठमाडौं । सिन्धुपाल्चोक, बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरी महिलाको १ जेठ २०७७ मा धुलिखेल अस्पताल, काभ्रेमा ल्याएको केहीबेरमै मृत्यु भयो । भोलिपल्ट अस्पतालमै गरेको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पुनः परीक्षण गर्दा पनि संक्रमण पुष्टि भएपछि ३ जेठमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणबाट नेपालमा पहिलो व्यक्तिको मृत्यु भएको औपचारिक घोषणा गर्‍यो ।

त्यसयता कोरोना संक्रमणबाट नेपालमा १० हजार बढीले ज्यान गुमाइसकेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोना महामारीको पहिलो लहर (३ चैत २०७७ सम्म) ३ हजार १४ जनाको मृत्यु भएको थियो । तर दोस्रो लहरको करीब ५ महिनामा थप ७ हजारभन्दा बढीको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । दोस्रो लहरको शुरुवाती पहिलो महिनाको अवधिमा कोरोना संक्रमणबाट ५६ जनाको मृत्यु भएको थियो । सबभन्दा बढी ३ जेठदेखि ३ असारसम्म ३ हजार ३८२ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ ।

छोटो अवधिमा यतिधेरै संख्यामा मानिसको मृत्यु हुनुलाई जनस्वास्थ्यविद्हरु राम्रो संकेत मान्दैनन् । सरकारको कमजोर तयारी र व्यवस्थापनका कारण बचाउन सकिने धेरै मानिसलाई पनि गुमाउनु परेको जनस्वास्थ्य विज्ञ डा. शरद वन्त बताउँछन् ।

श्वासप्रश्वास रोग विषेशज्ञ डा. निरज बम पनि दोस्रो लहरमा फैलिएको भेरियन्ट बढी संक्रामक देखिएको भए पनि समयमै अक्सिजन र अस्पतालमा बेडको व्यवस्था मिलाउन सकिएको भए धेरै संक्रमितलाई बचाउन सकिने बताउँछन् ।

मृत्यु हुने आधाभन्दा धेरै ज्येष्ठ नागरिक

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेमा सबभन्दा धेरै ज्येष्ठ नागरिकहरु छन् । मन्त्रालयको तथ्यांक अनुसार ६० वर्षदेखि माथि उमेर समूहका ५ हजार ३८७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो कुल मृतकको आधाभन्दा धेरै हो ।

यसैगरी ५०–५९ वर्ष उमेर समूहका १ हजार ९६१ जनाको मृत्यु भएको छ । ४०–४९ वर्ष उमेर समूहका १ हजार ४३७, ३०–३९ वर्ष उमेर समूहका ८२८ र २०–२९ वर्ष उमेर समूहका ३०४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

९५ जना बालबालिकाको मृत्यु

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ९५ जना बालबालिकाको मृत्यु भएको छ । मन्त्रालयका तथ्यांक अनुसार ०–९ वर्ष उमेर समूहका ४५ जनाको मृत्यु हुँदा १०–१९ वर्ष उमेर समूहका ५० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु भएकामध्ये सात जनाको भने उमेर खुलेको छैन ।

धेरैलाई बचाउन सकिन्थ्यो !

चिकित्सक एवं विज्ञहरु भने उपयुक्त व्यवस्थापन गर्न सकेको भए १० हजार नागरिकमध्ये धेरैलाई बचाउन सकिने बताउँछन् । उनीहरुका अनुसार पहिलो लहरमा राज्यले महामारीलाई गम्भीर रुपमा लिएन भने दोस्रो लहरमा अस्पतालमा अक्सिजन र बेड व्यवस्थापनमा चुक्यो । त्यसले मृत्युदरलाई ह्वात्तै बढाउन काम गर्‍यो ।

सरकारी तथ्यांकअनुसार पहिलो लहरमा कोरोनाबाट मृत्यु हुने दर ०.६ प्रतिशत थियो । तर दोस्रो लहरमा बढेर १.६ प्रतिशत पुगेको देखिन्छ ।

श्वासप्रश्वास विशेषज्ञ डा. निरज बम भन्छन्, ‘पहिलो लहरमा संक्रमण भए पनि धेरैलाई गम्भीर असर नगरकाले केही नगर्ने रहेछ भन्ने मनोविज्ञान निर्माण भयो ।’ सरकारले पनि यस्तै मनोविज्ञान बनाएका कारण पूर्व तयारीमा ध्यान दिएन, तर दोस्रो लहरमा बढी संक्रामक भेरियन्ट फैलियो । दैनिक ८/९ हजार मानिस संक्रमित भए भने होम आइसोलेसनमा मात्र एक लाख संक्रिय संक्रमित हुन पुगे ।

डा. बम भन्छन्, ‘पूर्व तयारी र व्यवस्थापनमा राम्रो गर्न सकेको भए यति धेरै मानिसहरु मर्ने थिएनन् । अस्पतालमा बेड र अक्सिजन अभाव भएकै कारण हामीकहाँ धेरै संक्रमितले ज्यान गुमाउनुपर्‍यो ।’

६ लाख ६५ हजार ५४८ जना कोरोनामुक्त

सरकारी तथ्यांकअनुसार हालसम्म ७ लाख ७७ हजार ५८९ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ लाख १० हजार ५०९ र एन्टिजेन विधिबाट ६७ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ ।

उनीहरुमध्ये ६ लाख ६५ हजार ५४८ जना संक्रमणमुक्त भएका छन् । प्रतिशतको हिसाबमा संक्रमणमुक्त हुने दर ९३.७ प्रतिशत हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!