धनुषा । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अयोध्या र जनकपुरधामबिच सुरु भएको रेल सेवाले धार्मिक तथा सांस्कृतिक पर्यटनसँगै स्थानीय स्तरमा रोजगारी, व्यापार र उद्यमशीलताका नयाँ अवसर सिर्जना गर्ने बताएका छन् ।

मंगलबार जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले सरयू–कमला एक्सप्रेसले नेपाल र भारतबिचको हजारौँ वर्ष पुरानो धार्मिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई आधुनिक यातायात पूर्वाधारसँग जोडेको बताएका हुन्  ।

उनले अयोध्याबाट प्रस्थान गरेको रेल जनकपुरधाम आइपुग्नु दुई देशबिचको सम्बन्धका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे । रामजानकी विवाहको प्रसङ्ग उल्लेख गर्दै यादवले अयोध्या र जनकपुरबिचको सम्बन्ध दुई सहरबीचको सम्बन्ध मात्र नभई बेटी–ज्वाइँ, परिवार, संस्कृति, परम्परा र आस्थाको सम्बन्ध भएको बताए । यस वर्षको विवाहपञ्चमीमा अयोध्याबाट आउने श्रद्धालु तथा भक्तजनलाई रेलमार्गबाटै जनकपुरधाम आउन सहज हुने उनको भनाइ छ ।

मन्त्री यादवले सरयू–कमला एक्सप्रेस सञ्चालनले जनकपुरधामको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने बताए । धार्मिक पर्यटकहरू जानकी मन्दिर दर्शन गरेर मात्रै फर्किने नभई केही दिन जनकपुरमा बसेर मिथिलाको संस्कृति, कला, हस्तकला, खानपान र स्थानीय उत्पादनको अनुभव लिने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

रेल सेवाबाट होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला, पर्यटन गाइड, होमस्टे तथा साना व्यवसायले लाभ लिन सक्ने उनको भनाइ छ । यसबाट नेपाल र भारतको मिथिला क्षेत्रका युवालाई सीप, पर्यटन, अतिथि सत्कार र उद्यमशीलतामार्फत रोजगारीका अवसर प्राप्त हुने उनले बताए ।

साझा यात्राको महत्त्व औँल्याउँदै मन्त्री यादवले भने, ‘आज हामी एउटा रेलगाडीको स्वागत मात्र गरिरहेका छैनौँ, दुई देशको साझा इतिहास, साझा संस्कृति र जनस्तरको आत्मीय सम्बन्धको नयाँ यात्राको पनि स्वागत गरिरहेका छौँ ।’ आफ्नो जिम्मेवारी र प्रतिबद्धताबारे स्पष्ट पार्दै उनले भने, ‘म युवा, श्रम तथा रोजगारमन्त्रीका रूपमा जनकपुरधामलाई अन्तर्राष्ट्रिय पर्यटनसँगै सीप, रोजगार र उद्यमशीलताको पनि महत्त्वपूर्ण केन्द्र बनाउन प्रतिबद्ध छु ।’ रेल सेवाले दूरी घटाउने, अपनत्व बढाउने, पर्यटन बढाउने, व्यापार बढाउने र रोजगारी बढाउने उनको भनाइ छ ।

सरयू–कमला एक्सप्रेसले करिब ६०४ किलोमिटर दूरीलाई करिब १९ घण्टाको यात्रामार्फत जोड्ने जानकारी दिँदै मन्त्री यादवले यसलाई नेपाल–भारतबिचको यातायात सहकार्यको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे । कार्यक्रममा उनले नेपालमा रेल सेवाको इतिहास पनि स्मरण गरे ।

सन् १९२७ मा रक्सौल–अमलेखगञ्ज रेल सेवा सुरु भएको र त्यसको करिब १० वर्षपछि जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा आएको उनले बताए । पुरानो रेल सेवा बन्द भएपछि नेपाल र भारत सरकारको सहकार्यमा आधुनिक ब्रोडगेज रेलमार्ग निर्माण तथा विस्तारको काम अघि बढेको र सन् २०२२ मा जयनगर–कुर्था रेल सेवा पुनः सञ्चालनमा आएको उनले उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय