एजेन्सी  । इरान र अमेरिका–इजरायलबीचको युद्ध तेस्रो सातामा प्रवेश गर्न लाग्दा खाडी क्षेत्रमा तनाव थप चुलिएको छ। इरानले पहिलो पटक छिमेकी राष्ट्र संयुक्त अरब इमिरेट्स (युएई) का तीनवटा प्रमुख बन्दरगाह क्षेत्र खाली गर्न चेतावनी दिएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था एसोसियटेड प्रेस (एपी) का अनुसार इरानले दुबईको जबेल अली बन्दरगाह, आबुधाबीको खलिफा बन्दरगाह र फुझेराह बन्दरगाह आसपासका क्षेत्र खाली गर्न चेतावनी दिएको हो । उसले  युएईका ती क्षेत्रहरूलाई निशाना बनाउन सक्ने संकेत दिँदै सर्वसाधारणलाई ती स्थानबाट टाढा रहन भनेको हो ।

इरानले युएईका बन्दरगाह र डकहरू प्रयोग गरेर अमेरिकी सेनाले आफ्नो मुख्य तेल निर्यात केन्द्र ‘खार्ग टापु’ मा आक्रमण गरेको आरोप लगाएको छ। इरानी विदेशमन्त्री अब्बास अराघ्चीले एक अन्तर्वार्तामा अमेरिकाले युएईको रस अल खैमाह र दुबई नजिकका स्थानहरूबाट खार्ग र अबु मुसा टापुमा प्रहार गरेको दाबी गरेका छन्।

इरानको संयुक्त सैन्य कमाण्डले चेतावनी दिँदै भनेको छ, ‘यदि हाम्रो तेल पूर्वाधारमा थप क्षति पुर्‍याइयो भने यस क्षेत्रमा रहेका अमेरिकासँग सम्बन्धित सबै तेल, आर्थिक र ऊर्जा संरचनाहरूमा प्रतिआक्रमण गरिनेछ।’

फुजैराहस्थित तेल पूर्वाधारमा इरानी ड्रोनलाई अवरोध गर्दा खसेको भग्नावशेषका कारण आगलागी भएको रिपोर्टहरू सार्वजनिक भएका छन्। यद्यपि, जबेल अली र खलिफा बन्दरगाहमा अहिलेसम्म कुनै प्रत्यक्ष आक्रमणको संकेत देखिएको छैन।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले इरानको दाबीबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

युएईका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार अनवर गर्गाशले आफ्नो देशलाई आत्मरक्षाको अधिकार भए पनि हाल ‘विवेक र संयम’ लाई प्राथमिकता दिइरहेको बताएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खार्ग टापुका सैन्य संरचनाहरू ध्वस्त पारेको दाबी गर्दै इरानले हर्मुज जलमार्गमा अवरोध सिर्जना गरेमा उसका तेल पूर्वाधारहरूमा समेत आक्रमण गर्ने चेतावनी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय