सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव नगद र नमुना मतपत्रसहित पक्राउ परेका छन् । मौन अवधिका बेला भएको उक्त घटनाले सिरहा–३ को चुनावी माहोल थप तातेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गए राति सिरहा नगरपालिका–१ शिवचोक स्थित संयुक्त चेकिङका क्रममा माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडी रोकी जाँच गरिएको थियो । प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले चेकजाँच गर्दा गाडीभित्र जसपा पार्टीका ५५ थान नमुना मतपत्र र नगद ४ लाख ८७ हजार रुपैयाँ फेला परेको जनाएको छ । बरामद नगदमध्ये एक हजार दरका ४१२ थान र पाँच सय दरका १५० थान नोट रहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार गाडीमा सवार सिरहा–३ का जसपा उम्मेदवार सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर बस्ने ५४ वर्षीय अशेश्वर यादव सहित सोही स्थानका ३२ वर्षीय श्याम कुमार यादव, ३५ वर्षीय रामप्रवेश यादव, ४० वर्षीय वीरेन्द्रकुमार यादव तथा नरहा गाउँपालिका–३ बस्ने २८ वर्षीय चालक जितेन्द्र कुमार महतो लाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बासुदेव पाठकका अनुसार नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखी घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको छ । बरामद नगद र सामग्रीबारे थप कानुनी प्रक्रिया अगाडि बढाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय भइरहेको उनले जानकारी दिए ।
निर्वाचन आचारसंहिता लागू भइसकेको र मौन अवधि चलिरहेका बेला उम्मेदवारनै नगद तथा नमुना मतपत्रसहित फेला परेको घटनाले सिरहा–३ मा राजनीतिक तरंग सिर्जना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!