सिरहा । सिरहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट हालसम्म सार्वजनिक नगरी गोप्य राखेको पाइएको छ । चालु आर्थिक वर्ष सुरु भएको लामो समय बितिसक्दा पनि बजेट विवरण सार्वजनिक नगरिनुले स्थानीय तहको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ ।

नगरपालिकाको आधिकारिक वेबसाइटसमेत वर्षौँदेखि अद्यावधिक भएको छैन । वेबसाइटमा आर्थिक वर्ष २०७१/०७२ का विवरण मात्र उपलब्ध छन् । पछिल्ला वर्षका बजेट, वार्षिक नीति तथा कार्यक्रम, खर्च विवरण र विकास आयोजनासम्बन्धी सूचनाहरू वेबसाइटमा राखिएका छैनन् । चालु आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम राखिएको भएपनि विस्तृत बजेट विवरण भने सार्वजनिक गरिएको छैन ।

स्थानीय तह सञ्चालन ऐन, २०७४ ले प्रत्येक स्थानीय तहले वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । साथै, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन र सूचनाको हकसम्बन्धी ऐनअनुसार सार्वजनिक निकायले आफ्ना निर्णय, योजना र खर्चसम्बन्धी विवरण समयमै सार्वजनिक गर्नुपर्ने दायित्व तोकेको छ । तर सिरहा नगरपालिकाले उक्त कानुनी दायित्व प्रभावकारी रूपमा कार्यान्वयन नगरेको देखिएको छ । बजेट सार्वजनिक नहुँदा विकास आयोजना, कुन शीर्षकमा कति रकम विनियोजन भयो, प्राथमिकता के राखियो भन्नेबारे सर्वसाधारण अनभिज्ञ छन् ।

बजेट सार्वजनिक नगरिनु र वेबसाइट अद्यावधिक नहुनुले सार्वजनिक स्रोतको उपयोगप्रति नागरिकमा शंका उत्पन्न भएको स्थानीयवासी बताउँछन् । उनीहरूका अनुसार पारदर्शिता अभावले विकास निर्माणको निगरानी र जनउत्तरदायित्व कमजोर बनाउँछ । “हामीले त कति बजेट आयो, कहाँ खर्च हुँदैछ भन्ने थाहा पाउने आधारै छैन,” एक स्थानीय बासिन्दाले भने, “वेबसाइट वर्षौँदेखि पुरानै छ, सूचना माग्न जाँदा पनि स्पष्ट जवाफ पाइँदैन ।”

यस विषयमा प्रतिक्रिया लिन खोज्दा सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुले स्पष्ट जानकारी दिन चाहेनन् । बजेट सार्वजनिक गर्ने समयसीमा, प्रक्रिया र ढिलाइको कारणबारे सोधिएको प्रश्नमा उनले प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । स्थानीयवासी, नागरिक समाजका प्रतिनिधि तथा सामाजिक अगुवाहरूले चालू आवको बजेट तत्काल सार्वजनिक गर्न तथा वेबसाइट अद्यावधिक गर्न माग गरेका छन् । उनीहरूले स्थानीय तहले कानुनी दायित्व पालना गर्दै नागरिकलाई समयमै सूचना उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।

सूचनाको हक लोकतान्त्रिक शासन प्रणालीको आधारभूत तत्व भएको उल्लेख गर्दै उनीहरूले पारदर्शिता अभावले सुशासनको अवधारणालाई कमजोर बनाउने बताएका छन् । सिरहा नगरपालिकाले बजेट कहिले सार्वजनिक गर्छ र वेबसाइट कहिले अद्यावधिक हुन्छ भन्नेबारे हालसम्म स्पष्टता नआउँदा नागरिकहरू प्रतीक्षामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय