सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा बिहीबार बेवारिसे पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन्। मलंगवा नगरपालिका–४ का १५ वर्षीय आकाश राम गोली लागेर घाइते भएका हुन्।
मलंगवा–४ स्थित ‘ढाकाबोर्डर’ भन्ने स्थानमा फेला परेको पेस्तोल खेलाउने क्रममा उनलाई गोली लागेको थियो। घटनामा बालकको दाहिने हातको पञ्जामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए।

प्रहरीका अनुसार ढाकाबोर्डरस्थित निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा पेस्तोल फेला परेको थियो। उक्त वस्तु नक्कली होला भनी चलाउने क्रममा अचानक गोली पड्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घाइते बालकको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ। उनको अवस्था अहिले खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
गत आइतबार (फागुन ३ गते) राति मलंगवामै अज्ञात समूहको गोली प्रहारबाट सब-इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको थियो। उक्त हत्यामा प्रयोग भएको हतियार नै मन्दिरमा फालिएको हुनसक्ने आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।



