काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले महानगरमा सुरु भएका सुधार र अभ्यासलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको बताएका छन्।

आगामी प्रतिनिधि सभा निर्वाचन जितेपछि रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने योजनामा रहेका बालेनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हाल्दा शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गरेका छन्।

‘आज नागरिकको विश्वासका कारण काठमाडौँ महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा हामीले शब्दभन्दा कामलाई प्राथमिकता दिएका छौँ,’ उनले लेखेका छन्, ‘स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी आम जनताको सुविधाका लागि काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्ने गरी काम गरियो। आम मानिसले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवा, पारदर्शी प्रणाली र संरचनागत सुधारको सुरुवात महानगरबाट भएको छ।’

उनले महानगरमा सुरु भएका सुधार र अभ्यासलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्रतिक्रिया दिँदै बालेनले आफू सिभिल इन्जिनियरका रूपमा देशका विभिन्न भागमा काम गरेको अनुभवले विकासको सही दिशा बुझ्न सहयोग गरेको बताएका छन्। ‘नेपालको विकास भन्नु सडक, भवन र ठूला संरचना मात्र होइन,’ उनले लेखेका छन्, ‘विकास भनेको सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु हो।’

स्ट्रक्चरल इन्जिनियरको रूपमा देशलाई दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै उनले लोकप्रिय नाराभन्दा इमानदार नेतृत्वको खाँचो औँल्याएका छन्। ‘हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउने हो,’ बालेनले उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!