सिरहा । आधुनिक नेपालका निर्माता श्री ५ बडामहाराजा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ सिरहामा भव्य रूपमा मनाइएको छ । आइतबार नेपाली सेनाको श्री नं. २७ वाहिनी अड्डाको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले विविध कार्यक्रम सञ्चालन गरिएको थियो ।
हरेक वर्ष पौष २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व र राष्ट्र निर्माणमा उहाँले पु¥याउनुभएको योगदानलाई स्मरण गराउँदै आएको छ । सोही उद्देश्यअनुरूप आयोजित कार्यक्रममा नेपाली सेनामा भर्ना छनोट प्रक्रियासम्बन्धी संक्षिप्त जानकारी, सेनाका गतिविधि झल्काउने फोटो प्रदर्शनी तथा सर्पदंशसम्बन्धी सचेतनामूलक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रमअन्तर्गत सप्तरी जिल्लाबाट सहभागी श्री बरख गणद्वारा नेपाली सेनाका विविध गतिविधिहरू समेटिएको आकर्षक फोटो प्रदर्शनी गरिएको थियो भने चोहर्वा ब्यारेकमा तैनाथ श्री नन्दाबक्स गणले सर्पदंशबाट जोगिने उपायसम्बन्धी व्यवहारिक जानकारी प्रदान गरेको थियो ।
यद्यपि पृथ्वी जयन्ती नेपाली सेनाका सबै व्यारेकहरूमा विशेष महत्वका साथ मनाइने परम्परा रहँदै आएको छ, तर श्री नं. २७ वाहिनी अड्डाले आयोजना गरेको कार्यक्रम यसपटक विशेष रूपमा उल्लेखनीय बनेको थियो । सिरहा जिल्लाका विभिन्न विद्यालयबाट आमन्त्रित करिब १५० जना छात्र–छात्राको सहभागिता रहेको कार्यक्रममा पृथ्वीनारायण शाहको जीवन, योगदान र राष्ट्रप्रतिको समर्पणलाई केन्द्रमा राखी अन्तरक्रियात्मक गतिविधिहरू सञ्चालन गरिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि श्री नं. २७ वाहिनीपति सहायक रथी नारायण बहादुर थापाले राष्ट्रनिर्माताको स्मरणसँगै बाल्यकालदेखि नै देशप्रेमको भावना विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले इतिहासको सही ज्ञानले बालबालिकामा राष्ट्रिय दायित्व र जिम्मेवारीको भावना विकास हुने उल्लेख गर्दै यसका लागि नेपाली सेनाले देशभरका विद्यालयहरूसँग सहकार्य गरी शैक्षिक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रमको सबैभन्दा रोचक पक्षका रूपमा विभिन्न विद्यालयका विद्यार्थीहरूबीच सम्पन्न “राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता रहेको थियो । प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई कदरस्वरूप चिनो वितरण गरिएको थियो भने उत्कृष्ट ठहरिएका श्री स्वस्तिक पाठशालाका छात्र तेजस सिंहलाई सहायक रथी थापाले ब्रिगेड मेमेन्टो प्रदान गर्नुभयो ।
कार्यक्रमले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई जीवन्त रूपमा स्मरण गराउँदै युवा पुस्तामा राष्ट्रप्रेम, राष्ट्रिय एकता र जिम्मेवारीको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजक तथा सहभागीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय