समुदायसँगको सहकार्यलाई संस्थागत गर्दै जिल्ला प्रहरी कार्यालय सिरहाले “समुदाय–प्रहरी जिल्ला समिति पुनर्गठन कार्यक्रम” भव्य रूपमा सम्पन्न गरेको छ। सुरक्षा व्यवस्थालाई जनमुखी र प्रभावकारी बनाउने उद्देश्यसहित उक्त कार्यक्रम शुक्रबार जिल्ला प्रहरी कार्यालय सिरहाको सभाहलमा आयोजना गरिएको हो।
कार्यक्रममा जिल्लाभरका समुदाय–प्रहरी समन्वयकर्ता, स्थानीय तहका प्रतिनिधि, समाजसेवी तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूलाई अपराध नियन्त्रणमा समुदायको प्रत्यक्ष भूमिका, स्थानीय सरकारसँगको समन्वय, तथा शान्ति–सुरक्षा सबैको साझा जिम्मेवारी हुने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।


प्रहरी अधिकारीहरूले समुदायसँगको विश्वास, सूचना आदान–प्रदान र सहकार्यलाई थप सुदृढ बनाउन समितिको पुनर्गठन अपरिहार्य रहेको उल्लेख गर्दै, “आगामी दिनमा समुदायमै आधारित सुरक्षा प्रणालीलाई संस्थागत गर्दै जनताको सुरक्षा सुनिश्चित गरिने” स्पष्ट सन्देश दिएका छन्।
कार्यक्रममा समितिको नयाँ संरचना, कार्ययोजना तथा आगामी क्रियाकलापबारे समेत विस्तृत छलफल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति दिनेश महतो प्रमुख अतिथि, सिरहा नगरपालिकाका मेयर डा. नविन कुमार यादव विशिष्ट अतिथि रहेका थिए। साथै जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्त राम शर्मा, सशस्त्र प्रहरी बल नेपाल नं. ७ हे.क्वा. सन्हैठा सिरहाका स.प्र.उ. नरेश भण्डारी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधि, सरोकारवाला निकाय, विभिन्न संघ–संस्थाका प्रमुख/प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।



