पाल्पा । बुटवलदेखि पाल्पा हुँदै गुल्मी जाँदै गरेको जिप बुधबार बिहान तानसेन नगरपालिका–१३, बैकुण्ठे क्षेत्रमा दुर्घटनामा परेको हो ।
पाल्पाको पर्यटकीयस्थल रानीमहल नजिकै बैकुण्ठे भीर क्षेत्रमा बुधबार जिप दुर्घटना हुँदा १२ जना यात्री घाइते भएका छन् । बुटवलदेखि पाल्पा हुँदै गुल्मी जाँदै गरेको लु १ ज ४५९३ नम्बरको जिप तानसेन नगरपालिका–१३, बैकुण्ठे क्षेत्रमा दुर्घटनामा परेको हो ।

तानसेन–रानीमहल सडक खण्डको बैकुण्ठे ओरालोमा सडकमा आफैं अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेहरु बाग्लुङ बडिघाट, निसीखोला, बगनासकाली, नवलपरासी बर्दघाट, रुपन्देही सैनामैनाका रहेको प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।
ओरालो सडकमा भएको दुर्घटनाका घाइतेहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । ११ जनाको स्वास्थ्य अवस्था सामान्य छ ।
ओरालोमा ब्रेक तात्ने र ब्रेकले काम नगरेकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जनाएको छ । ओरालो र ग्रेडसमेत नमिलेको सडक भए पनि गुल्मी तथा बाग्लुङ जाने सवारी साधन यहाँ हुँदै जाने गर्छन् ।



