धनकी देवी लक्ष्मीको पूजा आराधना गरिने तिहारको तेस्रो दिन सोमबार साँझ जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिर दीप र बत्तीले झकिझकाउ भएको छ।
मन्दिरको कलात्मकता र झिलिमिली बत्तीको संयोजनले मन्दिको दृश्य मनमोहक देखिएको छ। हजारौँ सर्वसाधारण तथा भक्तजनहरूले दीप प्रज्वलन गरी पूजा सहभागी भएका छन्।

मन्दिरलाई रंगीचंगी बिजुली बत्तीले आकर्षक रूपमा सजाइएको छ। मन्दिर प्राङ्गणमा सर्वसाधारणहरूले हजारौंको संख्यामा दीप बालेर धनकी देवी लक्ष्मीको स्वागत गरिरहेका छन्।
साँझ पर्नासाथ मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लागेको थियो। परिवारसहित आएका सर्वसाधारणले मन्दिर परिसरमा दीप बाल्दै सुख, शान्ति र समृद्धिको कामना गरे।
जानकी मन्दिरमा यसरी सामूहिक रूपमा दीप प्रज्वलन गर्ने परम्पराले जनकपुरधामको तिहारलाई थप विशेष र उल्लासमय बनाउने गरेको छ।



