सिरहा । नेपाली हिन्दु समुदायको अर्को ठूलो पर्व दिपावली सुरु भएको छ । यम पञ्चकको पहिलो दिन कागलाई पूजा गरेसँगै दिपावली सुरु भएको छ ।
दिपावलीलाई लिएर सिरहा प्रशासनले ‘सूचना’ जारी गरेको छ । दपावलीको अवसरमा सिरहा जिल्लामा देउसी–भैलौ खेल्न समय पनि निर्धारण गरेको हो । देउसी–भेलै खेल्न सिरहा प्रशासनले राति ९ बजेसम्मको समय निर्धारण गरेको हो । जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दैै दिपावली, नेपाल संवत् र छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित वातावरणमा मनाउने उद्देश्यले कडाई गरेको छ । नागरिकलाई सुरक्षासँगै पर्व मनाउन आग्रह गर्दै जिल्ला प्रशासन सिरहाले सचेत र सुरक्षित हुन सवै जिल्लावासीलाई आग्रह गरेको हो ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले आइतबार जारी गरेको सूचनामा देउसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरू रातीको ९ बजेसम्म मात्र गर्न अनुरोध गरिएको छ । त्यसपछि यस्ता कार्यक्रम सञ्चालन नगर्न चेतावनी दिइएको छ । ठूलो आवाज हुने सांगीतिक कार्यक्रम, आतिसबाजी, पटाका, भुइँचम्पा तथा अन्य विस्फोटक पदार्थको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको सहायक प्रजिअ बरालले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । यस्तै मादक पदार्थ सेवन गरी सार्वजनिकस्थलमा होहल्ला नगर्न, ट्राफिक नियम पालना गर्न, सवारीमा तोकिएभन्दा बढी यात्रु नबोक्न र नशामा सवारी नचलाउन विशेष अनुरोध गरेको छ ।
जुवा, तास, चिट्ठा, अनलाइन ठगी, कालोबजारी, मूल्यवृद्धि र अवैध कारोबार जस्ता गतिविधिमा संलग्न नहुन जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाका नागरिकहरूलाई सचेत गराइएको छ । राजमार्ग तथा सडकमा अवरोध गर्ने खालका गतिविधि नगर्न र सार्वजनिक स्थानमा अनुशासनहीन क्रियाकलाप नगर्न अपिल गरिएको छ ।

दीपावलीको समयमा दियो, बत्ती तथा विद्युत सामग्री प्रयोग गर्दा सम्भावित आगलागीको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । छठ पर्वको सन्दर्भमा जलासय वरपर सरसफाइ, सुरक्षा र व्यवस्थापनमा स्थानीय निकाय तथा सुरक्षाकर्मीलाई सहयोग गर्न पनि प्रशासनले सवैसँग आग्रह गरेको छ । सांस्कृतिक कार्यक्रम, मेला वा भीडभाड हुने गतिविधि सञ्चालन गर्नु अघि अनिवार्य रूपमा प्रशासनबाट अनुमति लिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

जिल्लाका गाउँदेखि बजारक्षेत्रमा पसल वा कम्पाउन्ड राति अबेरसम्म नखोल्न र शंकास्पद व्यक्ति वा गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन समेत अनुरोध गरिएको छ । कुनै व्यक्ति वा समूहले यस्ता कार्यविरुद्धका निर्देशन उल्लंघन गरेमा प्रचलित कानुन अनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय सिरहाले चेतावनी समेत समेत दिइएको छ । प्रहरीको विशेष टोलीले जिल्लाको शान्ति सुरक्षाको निगरानी गर्दै अपराधिक गतिविधि गर्नेलाई तत्काल पक्राउ गर्ने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय