काठमाडौं । प्रतिनिधिसभा विघटन गरी फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै नयाँ दल कति वटा जन्मिएलान् ? भन्ने चासो बढेको छ । दुई दिने जेनजी प्रदर्शनी र उथलपुथलपछि पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जानकारी लिनेहरुको चहलपहल बढेको छ ।
यही मेसोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नयाँ दल खोल्ने चर्चा छ । पार्टी खोल्न दबाब आइरहेको उनी निकटस्थहरुले दाबी गरिरहेका छन् ।

तर, आयोगमा १८८ नम्बरमा दर्ता छ, हाम्रो नेपाली पार्टी । पार्टीका अध्यक्ष छन्, अनन्तराज घिमिरे । चुनाव चिह्न लौरो छ ।
२०७९ असार २९ गते दर्ता भएको उक्त पार्टी नै बालेनको नै भएको चर्चा पनि सुरु भएको छ । पार्टी अध्यक्ष घिमिरेले पनि उक्त पार्टी बालेनकै भएको जिकिर गरे ।
“हामी इन्जिनियरको टिम हौं । बालेन शाहका सपोर्टरहरुले दर्ता गरेको पार्टी हो । त्यो उहाँको पार्टी हो,” उनले बाह्रखरीसँग भने, “देश परिवर्तन हुनुपर्छ, सकारात्मक दिशामा अघि जानुपर्छ भन्ने मान्यता राख्ने टिम हो ।”
उनले पार्टीको अध्यक्ष शाह हुने वा अरु कोही हुने भन्ने निर्देशन आएमा औपचारिकता दिन कुनै समस्या नरहेको बताए ।
“बालेन शाह आफैँ अध्यक्ष हुने वा अरु कोही अध्यक्ष हुने भन्ने कुरा उहाँ वा टिमले निर्धारण गरेपछि औपचारिकता दिन हामीलाई समस्या छैन,” घिमिरे भन्छन् । ०७९ को निर्वाचनका बेला बालेनकै निर्देशनअनुसार पार्टी दर्ता गरिएको उनले बताए ।
“०७९ मा बालेनजीलाई जिताउन लागेको टिम हो । हामी भिन्न होइनौं । हामी राजनीतिभन्दा बाहिरका हौं ,” उनले बाह्रखरीसँग भने, “कतिबेला के गर्ने भन्ने बालेनजीको कुरा हो । उहाँको जे निर्देशन हुन्छ, त्यही गर्ने हो ।”
बालेन शाह लौरो चिह्नबाट स्वतन्त्र उमेदवार बनेर चुनाव जितेका थिए ।
हाम्रो नेपाली पार्टी विभिन्न ठाउँम चुनाव लडेको थियो । वाग्मती प्रदेशसभामा भने हाम्रो नेपाली पार्टीका दुई सदस्य छन् । तर बालेन शाह निकट स्रोतले भने लौरो चुनाव चिह्न लिएर स्थानीय तहको चुनावमा भाग लिनु र अहिले त्यही चुनाव चिह्न भएको पार्टीका बारेमा हल्ला चल्नु संयोगमात्रै भएको जनाएको छ ।
“अहिले हामी महानगरकै काममा व्यस्त छौँ,” उनले भने, “पार्टीका विषयमा अहिलेसम्म गम्भीर भएर छलफल पनि भएको छैन । बाहिर आएका सबै हल्लामात्रै हुन् ।”
यो बीचमा पनि महानगरले सोचेअनुसार काम गर्न नसकेको र नपाएको उल्लेख गर्दै अब महानगरको कामले गति लिने उनको धारणा थियो ।



