नेपालको संविधान जारी भएको आज १० वर्ष पूरा भयो।
यस संविधानका लागि हजारौं युवाले संघर्ष गरे, कैयौं परिवारले आफ्ना आफन्त गुमाए र असंख्य त्याग, बलिदान र तपस्याबाट मात्र हामीले यो मुल कानुन प्राप्त गरेका छौं।
तर आज पनि संविधानलाई अपुरो भन्ने आवाज छ। धेरै वर्ग र समुदायले चाहेजस्तो अधिकार पाएका छैनन्। संविधान गतिशील दस्तावेज हो, समय र समाज अनुसार संशोधन गर्न सकिने भए पनि यसको आत्मालाई लागू गर्ने सवालमा राज्य चुकेको छ।

संविधानको आत्मा भनेको नागरिकलाई समान अधिकार, न्याय र अवसर दिनु हो। तर विडम्बना के छ भने— अधिकार माग्दा सहिद बन्नुपर्ने अवस्था अझै कायम छ। राज्यले आफ्ना नागरिकलाई गोली हान्नु नै विफलताको प्रमाण हो, र त्यसका लागि पीडित समुदायसँग माफी माग्नै पर्छ।
आजको वास्तविक समस्या संविधानको अपुरोपन मात्र होइन, भ्रष्टाचारले खाईरहेको प्रणाली पनि हो।
राजनीतिमा पहुँच भएका, ठूला दलका नजिकका व्यक्तिहरूले संविधानले दिएको अधिकारभन्दा बढी विशेषाधिकार उपभोग गरिरहेका छन्।
संविधानले बराबरी भन्यो, तर अवसर दलाल र कमिसनबाजको हातमा कैद छ।
शिक्षा, रोजगारी, न्याय सबै क्षेत्र भ्रष्टाचारको चपेटामा छन्।
आज Gen Z पुस्ता यही अन्याय, असमानता र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएको छ। उनीहरूको उठाइएका मुद्दा— रोजगार, समानता, पारदर्शिता र इमान्दार शासन— संविधानको वास्तविक आत्मा हो।
त्यसैले सरकारले सम्झनुपर्छ—
संविधानको दिवस केवल समारोह होइन, नागरिकसँगको करार हो।
यसलाई व्यवहारमा उतार्न, भ्रष्टाचार अन्त्य गर्न, सहिदका सपना र Gen Z को आवाजलाई सम्मान गर्न जरुरी छ।
सहिदहरूलाई श्रद्धाञ्जली, संघर्षरत युवाहरूलाई ऐक्यबद्धता, र सम्पूर्ण नेपालीलाई संविधान दिवसको शुभकामना।



