सिरहा । सिरहा नगरपालिकाको नगर सभा आज बस्न लागेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी नगरसभा बस्न लागेको हो ।
सिरहा नगरपालिकाको सभाहलमा दिउँसो नगरसभा बस्ने र चालू आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको प्राथकिताको विषयवारे छलफल हुने कार्यक्रम रहेको छ । २०७९ मा निर्वाचित भएको वर्तमान सिरहा नगरपालिकको स्थानीय सरकारले नियमित समयभन्दा ढिला गरी नगरसभा गर्न लागेको हो । जनप्रतिनिधिवीच नै तालमेल मिल्न नसक्दा आर्थिक वर्ष सुरु भएको १ महिना वित्न लाग्दा नगरसभा बस्न लागेको हो ।

स्थानीय तह संचालन ऐन, २०७४ अनुसार असार १० गतेभित्र नगरसभा गर्नुपर्ने र असार महिनाभित्र बजेट पारित गर्नुपर्ने कानूनी प्राबधान छ । त्यस विपरीत सिरहा नगरपालिकाको करिब दुई महिना ढिलागरी नगरसभा बस्न लागेको हो । नगरसभामा सिरहा नगरपालिकाले कुन कुन क्षेत्रलाई प्राथमिकतामा राख्ने विषय निकै चासो पूर्वक हेरिने भएको छ । नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएको यो चौथांै वर्षको बजेट र कार्यक्रम हुने भएकोले पनि आम नागरिकले वडो चासोकासाथ नगरसभालाई लिएको छ ।

सिरहा नगरपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, ढल निकासी, सुशासन लगायत हरेक क्षेत्रमा समस्या रहेको छ । दिगो विकास हुने गरी सिरहा नगरपालिकाले नीति तथा कार्यक्रमलाई प्राथमिकता राख्न नसकेको जानकारहरु बताउँछन् । नगरको ‘मास्टर प्लान’ विनै विकास निर्माणमा करौडौं रुपैयाँ खर्च भईरहेको र दीगो नभईरहेको स्थानीय नागरिक अगुवाहरुको भनाई रहेको छ । नेकपा माओवादीका युवा नेता अरविन्द यादवले सिरहा नगरपालिकाले नगरको वृहत हित हुनेगरी नीति तथा कार्यक्रम ल्याउनु पर्ने र त्यसै अनुसार बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । देशको पूरानोमध्येको एक सिरहा नगरपालिका भएपनि यहाँको विकासमाथि जहिले प्रश्न उठ्ने गरेको भन्दै नेता यादवले सिरहा नगरपालिका क्षेत्रको विकास गर्न मास्टर प्लानको निकै जरुरी भएको बताए ।

गुणस्तरीय शिक्षासँगै सामुदायिक विद्यालयहरुको पूर्वाधारहरु निकै कमजोर भएको रहेको स्थानीय अगुवा कुमार विवेकले बताए । विद्यालयहरुमा बालबालिका भूईमा बसेर पढ्न बाध्य रहेको भन्दै उनले स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाईने औषधी पनि उपलब्ध नहुने अवस्था रहेको बताए । शिक्षा, स्वास्थ्यसँगै नागरिकको आवश्यकताको क्षेत्रहरु पहिचान गरी नगरपालिकाले सुविधा थप्ने गरी योजना र नीति ल्याउनु पर्ने उनले बताए ।

सिरहा भन्सार कार्यालय माडरको विस्तार, कमला नदीको पुल निर्माणमा समन्वय, जिल्ला अदालत सिरहाको भवन निर्माणको निम्ति जग्गाको बन्दोबस्ती गर्न पनि सिरहा नगरपालिकाले यस सभाबाट नीति लिनुपर्ने सिरहा नगरपालिका १२ का मनोज मण्डलको भनाई रहेको छ ।

सिरहा नगरपालिकाले यस पटकको नगरसभामा नागरिकका मुद्दाहरुलाई समेट्दै नीति तथा कार्यक्रम र बजेट ल्याउन लागिएकोे प्रमुख प्रशासकीय अधिकृत मो. इद्रीश राईनले बताएका छन् । एक अर्बको हाराहारीमा बजेट आउन लागेको र प्रत्यके वडालाई ५०/५० लाखको योजना तथा कार्यक्रम ल्याउन बजेटको सिलिङ दिईएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय