म निर्मला पन्त 
सुदूरपश्चिमकी चेली
लाउँलाउँ खाउँखाउँ भन्ने कलिलो उमेरमै
बलात्कृत भएर घाँटी निमोठिएकी!

मेरा दौतरीहरु बाउआमासँग
जिन्स र बुट, घडी र मोबाइल मागिरहँदा
म राज्यसँग न्याय मागीरहेछु!

लाज के हो बोध नहुँदै 
तेह्र वर्षीय कलिलो उमेरमा
कुनै यौनपिपासुको पाशविकताले 
मेरो लज्जा धुजा धुजा भयो।

भनिन्छ मृत्युपछि शान्ति नै शान्ति हुन्छ 
रेस्ट इन पिस! 
तर विडम्बना, 
मेरो मृत्युपछिका 
एकदिन पनि शान्तिमय छैनन् 
मृत्युको भोलिपल्टदेखि नै 
एउटा नयाँ अध्याय सुरु भयो 
सडकदेखि सदनसम्म तात्यो 
काठमाडौंदेखि कञ्चनपुरसम्म रन्क्यो 
निर्मला पन्त हट केक बन्यो!

अखबारका फ्रन्ट पेजहरु 
टेलिभिजनका स्क्रिनहरु 
मेरो उखुबारीमा लडेको तस्बिरमय भयो!

लाग्थ्यो, म यस्तो समाचार हुँ 
जोसँगै नेपाल बिउँझन्छ,
चिया पिउछ, खाना खान्छ, अफिस जान्छ 
अनि राति सिरानीमुनि राखेर सुत्छ।

समय बित्दै जाने क्रममा 
दिन, महिना, वर्ष हुँदै 
दुई वर्ष पुगिसकेको छ!

निर्मला पन्त एकादेशको कथा भइसकेको छ! 
न्याय त कुनै कस्तुरी मृग जस्तै 

मृगतृष्णाको भुलभुलैयामा रुमल्लिएको छ!
कुहिरोको काग जस्तै भौँतारीरहेको छ!

अपराधीहरु निर्धक्क, स्वच्छन्द
खुला आकाशमा विचरण गरिरहेका छन्!

अझै यहाँ दिनहुँ च्यातिइरहेका छन् 
नारी अस्मिताहरु
अझै यहाँ दिनहुँ लुटिइरहेका छन् 
निर्मला, कमला, अनि बिमलाहरु।

किन रोकिँदैनन् बलात्कारका यी श्रृंखलाहरु!
किन रोकिँदैनन् बलात्कारका यी श्रृंखलाहरु!

म निर्मला पन्त
दुई हात जोडेर माग्दैछु 
देशसँग, देशबासीसँग 
प्रहरीसँग, न्यायालयसँग, अखबारहरुसँग
अनि देशकै पहिलो महिला राष्ट्रपति ज्यूसँग 
न्यायको नाममा मलाई 
समाचार मात्र नबनाउनुस् 

अझ धेरै उदाङ्गो नपार्नुस्
औँला भाँच्दै मेरो बलात्कारका 
दिनहरु पनि नगन्नुस्! 

बरु सक्नुहुन्छ भने 
मलाई एकसरो लाजको पछ्यौरी ओढाइदिनुस्।

मलाई एकधरो इज्जतको बर्को ओढाइदिनुस्। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय