कोजगराको अवसरमा पूजापाठका साथै यसै वर्ष विवाह भएका नवजोडीका लागि अन्तिम विधि गर्ने गरिन्छ ।
पछिल्लो वर्ष मंसिरदेखि असारसम्म वैवाहिक जीवनको सुरुवात गरेका बेहुली पक्षबाट बेहुलाको घरमा यस दिन भार पठाउने चलन छ । भारमा पान, मखान, फलफूल, दही, मिठाई, सौंफ, मुमफली अनिवार्य हुन्छ । यसैगरी बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा पनि लग्नैपर्ने हुन्छ ।
बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ । यसलाई चुमाओन विधि भनिन्छ । पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले आर्शिवाद दिने गर्छन् । यस दिन बेहुलाहरुलाई मिथिलाको पाग लगाइदिँदै ससुरालीबाट आउने कपडा पहि¥याउने गरिन्छ ।
बेहुलीकै घरबाट आउने डाला, धान, अक्षता, दही, केराजस्ता पूजा सामग्रीबाट बेहुलालाई चुमाउने गरिन्छ । बेहुलाको टाउकोदेखि खुट्टासम्मको पाँच प्रमुख स्थानलाई चुमाउने चलन छ । चुमाओन गरिनु भनेको एक किसिमको आर्शिवाद दिनु हो ।
चुमाओन विधि सकिएपछि सामूहिक रुपमा भोजजस्तै खानपिनको आयोजना गरिन्छ । क्षमता हुनेले ठूलो भोज आयोजना गर्छन् यस दिन । यस अवसरमा मिठाइ, मखान, पान खानैपर्ने हुन्छ ।
खानपिनपछि कौडासहित पचिसी खेल्ने चलन छ । आठ कौडीहरू र सोह्र गोटीद्वारा पासाका चौसठ्ठी बेहुला र बेहुलीका दाजु वा भाइबीच खेलिन्छ ।
बेहुली पक्षबाट यस दिन भारका साथै अन्य सामानहरु पनि दिने चलन छ । आभूषण, औंठी, छाता, घडी पनि बेहुला पक्षलाई बेहुली पक्षले दिने चलन छ । यस दिन छोरीको विवाह गर्दा प्रतिबद्धता गरे अनुसारको बाँकी रहेका दाइजो पनि दिने चलन छ ।
यस दिन बेहुली पक्षबाट कम्तीमा पाँच जनादेखि ११ या १५ जनासम्म भार लिएर आउने गर्छन् । क्षमता हुनेले एक सय वटासम्म र नहुनेले कम्तीमा ११ वटासम्म भार पठाउनुपर्ने चलन छ ।
छोरीको विवाह भएर बिदाइ गर्ने बेलामा दिइने कोसेलीझैं कोजगरा पर्वमा पनि कोसेलीहरु दिइने गरिन्छ ।
मिथिला संस्कृति अनुसार यसअघि मधुश्रावणीका दिन बेहुलाको घरबाट बेहुलीको घरमा भार पु¥याउनुपर्ने हुन्छ । मधुश्रावणी पर्व साउन महिनामा मनाउने गरिन्छ ।