गत शनिबारबाट धनुषाको ठेराकचुरीदेखि यात्रा सुरु गरेको माध्यमिकी परिक्रमाका यात्रीले क्रमशः धनुषाको हनुमानगढी, भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर र गिरिजास्थानमा पहिलो, दोस्रो र तेस्रो दिनको रात्रि विश्राम गरिसकेका छन् ।
गिरिजास्थानबाट सीमावर्ती भारतीय बजार मधवापुर हुँदै दशगजा (नेपाल–भारत सीमा) कटेर नेपालको महोत्तरीको मटिहानी प्रवेश गरेका यात्रीलाई मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल, महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, महोत्तरी उद्योग वाणिज्य संघका पदाधिकारी र मटिहानीवासीले स्वागत गरेका छन् ।
मटिहानीमा परिक्रमावासीका लागि सड़क ,बत्ती, खानेपनीलगायत निःशुल्क स्वास्थ्य शिविरको व्यवस्थापन गरिएको छ । परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानका हजारौं साधुसन्त एवं श्रद्धालुहरुको सहभागिता रहेको छ । जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमिकी परिक्रमा विधिवत रुपमा सुरु भएको थियो ।
परिक्रमामा सहभागीहरु क्रमशः मटिहानी हुँदै जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णीमाका दिन जनकपुरधाम फर्कने छ । मिथिलाको महाकुम्भ भनेर चिनिने यस महामहोत्सवमा हजारौंको सहभागिता रहने गरेपनि यस धार्मिक यात्रालाई व्यवसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकी मन्दिरका सहायक महन्थ राम रोशन दासले जानकारी दिए ।
परिक्रमामा सहभागिहरुको लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्रवटै विश्रामस्थलमा विजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको छ । परिक्रमावासीहरु राति गाउँभन्दा टाढा खुला चौर, बगैचा वा पोखरीको डिलमा विश्राम गर्छन् । स्थानीय बासिन्दाहरुले पनि सहभागीहरुका लागि अन्न, दाउराको प्रवन्ध मिलाउँछन् ।
नेपाल भारत दुबै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरु छन् । मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ ।
परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सितामढी, बैद्यनाथधामका साधुसन्तहरु समेत उल्लेख्य रुपमा सहभागी हुने गर्दछन् । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ ।
फागु पुर्णिमाका दिन अन्तगृह परिक्रमा समाप्त भएपछि त्यसको भोलिपल्ट तराईका जिल्लाहरुमा होली मनाउने परम्परा छ ।