‘दिउसै घडी नै नहेरी हामि समयमै खेल्न आइ पुग्थ्येउ’ क्याम्पसमा भेट्दा पंकजले बेला बेला सम्झिरहन्छ । सिरहाका बासिन्दाको लागी उपर्युक्त खेल्ने मैदान सुर्य नारायण सत्य नारायण मोरबैता यादव बहुमुखी क्याम्पसको खुल्ला चौर नै हो । हामीले यो चौरमा कहिले फुटबल, कहिले क्रिकेट, कहिले ब्याडमिन्टन खेलेर आफ्नो बालापन बिताएका छौ । क्रिकेट धेरै खेलेका हौ, फुटबल धेरै हेरेका छौ ।

घरमा खाना पकाउन ल्याएको दाउराबाट छानेर काठलाई बिभिन् रुप दिदै ब्याट बनाउथ्यौ हामी । एक पटक भने पंकज, जिसन, अशोक, बिपिन, श्याम, मंगल, बिनोद र म थोरै थोरै पैसा जम्मा गरेर ब्याट बल विकेट किन्यौ । यसरी सबै कुरा नयाँ भएपछी हामी हौसिएका थियौ, अरु धेरै खेल्न । त्यो बेला टेनिस बल ४० रुपैयाँमा पाउँदो हो क्यार, हामीले अरु टिमसंग ५ रुपैयाँको बाजी राखी तेही बल किन्ने लोभमा म्याच खेल्थ्येउ ।

हाम्रै छिमेकी दाईहरुले बनाएको हाम्रो एउटा सिनियर टिम पनि थियो । कहिलेकाही हामी र सिनियर टिम मिलेर खेल्थ्यो । ब्याटिंग गर्ने मौका कम आउने भएकोले सिनियर टिमसंग खेल्न मन लाग्दैनथ्यो । सिनियर टिमले म्याच खेलमा सामिल गराउदा भने ‘आफु राम्रो खेलाडी भएको’ ठानेर मज्जा आउथ्यो ।
सिनियर टिममा एस.जी. लेखिएको ब्याट अरु सबै खेलाडीले खेल्न चाहे पनि बिरेन्द्र (यादव)दाई बि.डी.एम.ले छक्काको बर्सात गर्थे । सुनिल गावस्करले हस्ताक्षर गरेको ब्याट सबैलाई मन पथ्र्यो । तर बि.डी.एम ब्याटले नै बिरेन्द्र दाईलाई साथ दिन्थ्यो । यस.जी. ब्याटले भने जय प्रकाश यादव राम्रो खेल्नु हुन्थ्यो । जेपीले ब्याटिंग संगै किप्पिंग पनि राम्रो गर्थे । बिरेन्द्र र जेपी क्याम्पसको छात्राबासमा बस्नु हुन्थ्यो ।

ठ्याकै यकिन गर्न नसकिए पनि यो ५९ –६० सालतिरको कुरा हो । मैले छात्राबास भित्र एक पटक छिरेको याद छ, किन र को संग त्यो सम्झना रहेन । सिरहा क्याम्पससंग म र सिरहाका थुप्रै युवाहरुको आफनै सम्झनाहरु छन । हाम्रो बालापनको एउटा साक्षी क्याम्पस पनि हो । छात्राबास भने भबिष्य बदल्ने सपना लिएर आएका युवाहरुको साक्षी ।

गुल्जार रहने चौर २०६५ साल यता भने रौनक बिहिन छ । २०६५ सालको स्ववियु चुनाबमा अनेरास्ववियु र नेविसंघका विद्यार्थीबीच झडप भएपछि क्याम्पस प्रशासनले छात्रावासमा तालाबन्दी गरेपछि यो क्याम्पसको नराम्रो दिन सुरु भएको हो । १५ वर्ष बितिसक्दा भने अहिलेको कोरोना महामारीलाई मध्यनजर गरि १०० जनाको लागि छात्राबासलाई क्वारेन्टाइनको बनाउन सिरहा नगरपालिकाले मर्मत गरेको छ । मर्मत गरी छात्राबास विद्यार्थी बस्न योग्य पनि बन्यो । कोरोनाकालमा संक्रमितलाई राखेको थियो । कोरानाकाल पनि सक्यो । मर्मत गरिएको छात्राबास अहिले विद्यार्थीको प्रतिक्षामा छ ।

आ–आफनै फाईदाको लागि राजनीति गर्ने संगठन र व्यक्तिगत स्वार्थ मात्र देख्ने क्याम्पस प्रमुखले पुनः संचालनमा ल्याउन नसकेको छात्राबासको दिर्घकालसम्म नै काम लाग्ने गरि मर्मतका केहि कामहरु भएको छ । अल्पकालमा क्वारेन्टाइनको लागि काम लाग्ने भएपनि छात्राबासलाई पुनः गरिब र जेहेन्दार विद्यार्थी राख्न प्रयोग गर्न बिद्यार्थी नेता र क्याम्पसले भूमिका खेल्न अब चुक्न मिल्दैन । क्याम्पस राम्रो भएको देख्न चाहने युवा र आम नागरिकले पनि यो समयलाई अबसरको रुपमा प्रयोग गरी स्थानीय नेता र क्याम्पस प्रमुखमाथि छात्राबासको नियमित संचालन र क्याम्पस सुधारको लागि दबाब बनाउन जरुरी छ । सिरहा क्याम्पसलाई फेरी पुरानै स्तरमा ल्याउन पनि छात्राबास बिद्यार्थीको लागि खोल्न जरुरी छ । पढिरहेका र आलोचनात्मक युवाको समुह सिरहाको सामाजिक र आर्थिक क्षेत्रमा बदलाब ल्याउन सक्छन् र यो समुहको निर्माण सिरहा क्याम्पसको छात्राबासले गर्न सक्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!