सिरहा । सिरहा नगरपालिका वडा नं. ५ को वडा कार्यालयले आफ्नो वडाभित्रका विपन्न, गरिब परिवारलाई चिसो छल्न कम्बल वितरण गर्न थालेका छन् ।
वडा अध्यक्ष जागेश्वर यादवको अध्यक्षतामा दलित, अतिविपन्न, जेष्ठ नागरिक अपाङ्ग तथा एकल महिलाहरुलाई चिसोबाट जोगिन कम्बल वितरण गरिएको छ । वडा कार्यालयले आफ्नो वडाभित्रका करिब चार सय परिवारलाई कम्बल वितरण गर्ने गरी अभियान नै संचालन गरेको छ ।


वडा कार्यालयले बिहीबार एक औपचारीक कार्यक्रमको आयोजना गरि दलित, अति विपन्न जेष्ठ नागरिक अपाङ्ग तथा एकल महिलाहरुलाई कम्बल वितरण गरेको हो । केही दिनदेखि अत्याधिक चिसोले दलित, अति विपन्न जेष्ठ नागरिक अपाङ्ग तथा एकल महिलाहरुको जीवनयापन नै गाह्रो भएकाले अरु त केही गर्न नसके कमसेकम कम्बल वितरण गरेर केही सहयोग गर्न पाएकोमा वडा अध्यक्ष यादवले खुशी व्यक्त गर्दै आगामी दिनमा अझै धेरै गर्ने आश्वासन समेत दिएका छन् ।

वडा अध्यक्ष यादवले मानब सेवानै सबै भन्दा ठुलो सेवा रहेको र मानब सेवा गरेपछी मन्दिर एबम कुनै धार्मिक शक्तीपिठ धाउने कार्य गर्नु नपर्ने समेत बताएका थिए । वडाबाट कम्बल पाउँदा स्थानीय जेष्ठ नागरिक खुसी व्यक्त गरेका छन् । आगामी दिनमा पनि यस्तै कार्यक्रमको आयोजना गर्नुपर्ने जेष्ठ नागरिकको भनाइ छ । वडा अध्यक्ष यादवका अनुसार पहिलो दिन दुुई सय परिवारलाई कम्बल वितरण गरिएको छ ।



