उज्बेकिस्तानको समरकन्दमा शुक्रवार सम्पन्न शांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) शिखरबैठकको साइडलाइनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्ताको एक अंशलाई पश्चिमी सञ्चारमाध्यमहरूले निकै बढाइचढाइ प्रस्तुत गरिरहेका छन् ।
त्यस वार्तामा मोदीले पुटिनलाई ‘यो युद्ध गर्ने समय हैन’ भनेका थिए । त्यसलाई युक्रेन मात्र नभई कुनै पनि युद्धविरुद्ध भारतको शान्तिवादी अडानका रूपमा नलिइकन पश्चिमले पुटिनलाई मोदीका तर्फबाट भएको आलोचनाका रूपमा प्रस्तुत गरेको छ ।

सीएनएनमा ऋषभ प्रताप, ल्यारी रजिस्टर र हेदर चनले तयार पारेको सामग्रीमा युक्रेनमाथि रुसको आक्रमणलाई मोदीले आलोचना गरेको भनी उल्लेख गरिएको छ । अझ विगत केही हप्तामा युक्रेनले चलाएको प्रत्याक्रमण कारवाहीमा रुसको पराजय भएको बेलामा मोदीको आलोचना पुटिनका लागि ठूलो धक्का हो भनी त्यसमा लेखिएको छ ।
त्यस्तै पोलिटिको पत्रिकामा स्टुअर्ट लाउ र सइम सईदको सामग्रीमा पनि आफ्नो मित्र ठानेका मोदीबाट पुटिनले कूटनीतिक धक्का अनुभव गरेको र मोदीले पुटिनलाई खुलमखुला आलोचना गरेको उल्लेख छ । चीनका राष्ट्रपति सी चिनपिङले बिहीवार युक्रेन युद्धका विषयमा पुटिनसँग प्रश्न र चिन्ता प्रकट गरेको भोलिपल्ट मोदीले पनि युद्धको आलोचना गरेको उनीहरू लेख्छन् ।
उता रोयटर्स समाचार संस्थाले युक्रेन युद्ध लगभग सात महिना पुग्न लाग्दा मोदीले पुटिनलाई सार्वजनिक मञ्चमा निर्भीक रूपमा आलोचना गरेको समाचार लेख्यो ।
पश्चिमसँगको द्वन्द्वमा रहेका पुटिनले चीन र भारत जस्ता एसियाली शक्तिहरूको साथ पाएकाले रुस विश्वबाट नएक्लिएको बताउँदै आएका छन् । तर मोदी र सीले सार्वजनिक रूपमा चिन्ता प्रकट गरेपछि पुटिनका एसियाली साझेदारहरू पनि पूर्णतः पुटिनको पक्षमा नरहेको देखिएको रोयटर्स लेख्छ ।
मोदीको यस भनाइबाट अबउप्रान्त भारतले रुससँगको आर्थिक कारोबार वा कूटनीतिक सम्बन्धमा पुनर्विचार गर्ला भन्ने पश्चिमको अपेक्षा हो भने त्यो निराधार ठहरिनेछ । मोदीले युद्धका विषयमा मात्र चिन्ता व्यक्त गरेका हुन्, रुससँगको सुमधुर सम्बन्ध कायम राख्ने विषयमा उनको दुईमत छैन ।
मोदीले पुटिनसँग गरेको कुराको लिखित पाठ (रीडआउट) भारतको विदेश मन्त्रालयले प्रकाशित गरेको छ । त्यसमा उनले भनेका छन्– अहिलेको युग युद्धको हैन भन्ने कुरा मलाई थाहा छ । विश्वलाई छुने चीज भनेका लोकतन्त्र, कूटनीति र संवाद हुन् भनी हामीले फोनमा पनि कैयौंपटक कुरा गरिसकेका छौं । आगामी दिनहरूमा हामी कसरी शान्तिको बाटोमा हिँड्न सक्छौं भन्ने विषयमा छलफल गर्ने अवसर अवश्य पाउनेछौं । तपाईंको दृष्टिकोण बुझ्ने मौका पनि मैले पाउनेछु ।’
यो रीडआउट पढ्दा मोदीले पुटिनलाई खुलमखुला आलोचना गरेको कुनै संकेत पाइँदैन । बरू पुटिनको दृष्टिकोण बुझ्न चाहेको मोदीले बताएर रुसका विषयमा पश्चिमले बनाएको भाष्यलाई आफूले नपत्याएको स्पष्ट सन्देश दिएका छन् ।
भारतले विश्वव्यापी आपूर्ति शृंखलालाई खलबल्याउने युक्रेन युद्ध थप नलम्बिए हुन्थ्यो भन्ने शान्तिवादी सदाशयता व्यक्त गरेको पुटिनलाई राम्रोसँग थाहा छ । त्यसैले जवाफमा उनले भने– युक्रेन द्वन्द्वका विषयमा तपाईंको अडानका बारेमा मलाई जानकारी छ र तपाईंको चिन्ता पनि म बुझ्छु । हामी सबै यो यथाशक्य चाँडो अन्त्य होस् भन्ने चाहन्छौं ।
यी दुई नेताहरूको यो संवादको अध्ययन गर्दा कतै पनि तिक्तताको अनुभव हुँदैन । युक्रेन युद्धमा भारतको अडान कसैबाट पनि लुकेको छैन ।
कूटनीतिक संवादमार्फत युद्ध अन्त्य हुनुपर्ने भारतले पहिलो दिनदेखि भन्दै आएको छ । तर त्यससँगै रुसमाथि कठोर आर्थिक प्रतिबन्ध लगाउनुपर्ने र उसलाई एक्ल्याउनुपर्ने अमेरिका नेतृत्वको पश्चिमको उर्दीलाई भारतले लगातार अवज्ञा गर्दै आएको छ ।
पश्चिमलाई निराश पार्ने गरी वास्तवमा भारतले सिद्धान्तनिष्ठ तटस्थताको प्रशंसनीय अडान लिँदै आएको छ । त्यो अडानका पछाडि भारतको दीर्घकालीन रणनीति रहेको छ । पंक्तिकारले भारतको यस रणनीतिका विषयमा पहिले पनि सामग्री तयार पारिसकेको छ ।



