झापा – अस्पतालका फोहोर सोझै बिरिङ खोलामा फालेका बिर्तामोड नगरपालिका क्षेत्रका अस्पतालहरूले आइन्दा यस्तो गल्ती नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
बुधबार जिल्ला प्रशासन कार्यालय झापामा बिरिङ खोलामा फोहोर फालिएको विषयमा छलफल भएको थियो।

सोही छलफलमा अस्पतालका सञ्चालकहरूले त्यस्तो काम आइन्दा नगर्ने प्रतिवद्धता जनाएका हुन्।
झापामा रहेका सबै अस्पतालहरूले फोहोर मैला व्यवस्थापनसम्बन्धी ऐनको पालना गर्न प्रशासनले निर्देशन दिएको छ।
बुधबार भएको छलफलमा अस्पताल सञ्चालकहरूले फोहोर मैला व्यवस्थापन ऐन, २०६८ र त्यसबारे बनेको नियमावलीको पूर्ण पालना गर्ने प्रतिवद्धता जनाएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।
अस्पतालहरूले फोहोरमैलाको व्यवस्थापन उचित ढंगले गरेको छ कि छैन भन्नेबारेको अनुगमनका लागि स्थानीय तहहरूलाई अनुरोध गर्ने पनि सहमति भएको छ।




