नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काँग्रेस नेता प्रदीप गिरिको निधनले नेपालले लोकतन्त्रको अविचलित योद्धा गुमाएको बताएका छन् । आइतबार कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले नेता गिरिले लिएको अडानबाट मात्रै नेपालमा गणतन्त्र सम्भव भएको बताए ।
‘नेता गिरि गणतन्त्र र समाजवादप्रति अविचलित अडान राख्ने नेता हो’, अध्यक्ष नेपालले भने, ‘अत्यन्तै निष्ठावान, लोकतन्त्रप्रति समर्पित र देशलाई समाजवादमा लानुपर्छ भन्ने अभियान्ता हो ।’ अध्यक्ष नेपालले गिरि निकै अध्ययनशील व्याख्याता, विश्लेषक र समर्पित योद्धालाई गुमाउनु नेपाली राजनीतिका लागि ठुलो क्षति भएको बताए । आफुसँग गिरिको विशेष सम्बन्ध रहेको भन्दै २०६२–०६३ मा राजाको विज्ञप्तिपछि कांग्रेसमा विचलन आउँदा गिरिले नै पार्टीलाई गणतन्त्रको यात्रामा हिँडाएको बताए ।




