सिरहा । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाले एक वर्षको अवधिमा सवारीसाधन कारबाही गरेर तीन करोड १७ लाख ६२ हजार ५ सय राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ४३ हजार २ सय १९ सवारीसाधनलाई कारबाही गर्दा उक्त रकम संकलन भएको हो ।

सो क्रममा सबैभन्दा बढी मोटरसाइकललाई कारबाही गर्दा राजस्व संकलन भएको छ । नियम उल्लंघन गरी सवारीसाधन चलाउनेमा दुई पाङ्ग्रे चालक रहेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिएकाछन् ।

उनका अनुसार १४ हजार ७ सय १६ मोटरसाइकललाई कारबाही गर्दा ४ लाख ५० हजार राजस्व संकलन भएको छ । त्यस्तै १२ हजार १६३ ट्रक ट्यांकरलाई कारबाही गर्दा एक करोड २२ लाख ५१ हजार, ४ हजार २३ बस/मिनिबसलाई कारबाही गर्दा ३४ लाख ७० हजार, ९ हजार ७२५ कार/जिप/भ्यानलाई कारबाही गर्दा ६१ लाख ७६ हजार ५००, दुई हजार २५ ट्याक्टरलाई कारबाही गर्दा १२ लाख २३ हजार ५०० र ३५२ टेम्पो/अन्यलाई कारबाही गर्दा एक लाख ९१ हजार ५०० राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

‘मोटरसाइकल र स्कुटर चालकबाट बढी नियम उल्लंघन हुने गरेको छ,’ उनले भने, ‘सवारी साधनको कागजात नभएका र लाइसेन्स नभएका पनि बढी छन् ।’ सवारी साधनका धनीलाई कारबाहीसँगै सवारीधनीलाई नियमबारेमा पनि जानकारी गराउने गरेको श्रेष्ठले बताए ।

मादक पदार्थ सेवन गरेर जथाभावी सवारी चलाउने, क्षमताभन्दा धेरै यात्रु राख्ने, सिटबेल्ट नलगाइ चलाएमा कारबाही गर्ने, तोकिएको सिटमा तोकिएको मान्छे राखे नराखेको हेर्ने, दुर्घटना भए सम्बन्धित ठाउँमा पुगेर घटनाबारे विस्तृत विवरण लिएर दोषीलाई कारबाही गर्नेलगायतका काम ट्राफिक प्रहरीले गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय