काठमाडौं । राष्ट्रियसभाको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ ।
बैठकमा संसदीय समितिका प्रतिवेदन पेश गर्नुका साथै केही विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । बैठकको शुरुमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी प्रतिवेदन पेश गर्नेछन् ।

त्यसपछि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले कारागार विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष राख्नेछन् ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित शपथसम्बन्धी विधेयक, २०७८ छलफल र पारितका लागि प्रस्तुस्त गर्नेछन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री महोम्मद इस्तियाक राईले ‘नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयक २०७६ माथि परेका संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले जेष्ठ ‘नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक २०७५ माथि परेका संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने संसद् सचिवालयले जनाएको छ ।



